३० जेष्ठ २०८३, शनिबार | Sat Jun 13 2026

सिबिफिनले भूकम्प पीडितको राहतमा १० लाख सहयोग गर्ने

१९ कात्तिक, काठमाडाैं । भूकम्प पीडितको खोज, उद्दार तथा घाइतेको उपचारका लागि बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले १० लाख रूपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने भएको छ।

आइतबार एक विज्ञप्ति जारी गर्दै सिबिफिनले जिल्ला प्रशासन कार्यालय र स्थानीय निकायमार्फत् तत्कालका लागि १० लाख रूपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने जानकारी गराएको हो।

भूकम्पको भयावह अवस्थाबाट गुज्रिरहेका सम्बन्धित क्षेत्रका आम जनताको तत्काल खोज, उद्धार, घाइतेहरूको आवश्यक औषधोपचार र राहतसहित सुरक्षित पुनर्स्थापनामा सहयोग पुगोस् भन्ने हेतुले सम्बन्धित जिल्ला प्रशासन कार्यालय र स्थानीय निकायमार्फत् सिबिफिनको तर्फबाट तत्कालका लागि १० लाख रूपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने घोषणा गर्दछौं, सिबिफिनको विज्ञप्तिमा उल्लेख गरिएको छ।

राहत सहयोग उपलब्ध गराइदिन समेत सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरूमा सिबिफिनले अपिल गरेको छ। सिबिफिन बैंक तथा वित्तीय संस्था सञ्चालकहरूको छाता संगठन हो।

जाजरकोट केन्द्रबिन्दु भई शुक्रबार राति गएको ६.४ म्याग्नेच्युडको भूकम्पमा परी १५७ जनाको मृत्यु भएको थियो भने थुप्रै संरचनामा क्षति पुगेको छ।

प्रकाशित मिति : November 5, 2023 at 6:01 pm