हिमालयन रिइन्स्योरेन्सको आईपीओबारे तत्काल जवाफ दिन लेखा समितिले बोर्डलाई काट्यो पत्र
१९ कात्तिक, काठमाडौं । धितोपत्र बोर्डले प्रिमियम मूल्यमा आईपीओ निष्काशन गर्न अनुमति दिएर आर्थिक चलेखल गरेको भन्दै उजुरी परेपछि सार्वजनिक लेखा समितिले चासो देखाउँदै धितोपत्र बोर्डलाई पत्र काटेको छ ।
समितिले धितोपत्र बोर्डलाई पत्र काट्दै हिमालयन रिलाई प्रिमियम मूल्यमा आईपीओ निष्कासनको अनुमति दिएको विषयमा तत्काल जवाफसहित उपस्थित हुन अनुरोध गरेको हो । केही दिन अगाडि लगानीकर्ताहरुले हिमालयन रिइन्स्योरेन्सको आईपीओ अनुमति नियमसंगत नभएको भन्दै समितिमा उजुरी दिएका थिए । सोही उजुरीको आधारमा धितोपत्र बोर्डलाई एक हप्ताभित्र पत्रको जवाफसहित उपस्थित हुन निर्देशन दिइएको समितिका सदस्य लेखनाथ दाहालले बताए ।
लेखा समितिले प्रिमियम आईपीओसम्बन्धमा पत्र काट्दै धितोपत्र बोर्डलाई प्रिमियम आईपीओ जारी गर्दा केकस्तो भएको हो, त्यससम्बन्धी नियमहरु के छन् सोसम्बन्धमा तत्काल जवाफसहित उपस्थित हुन भनेको छ ।
कम्पनीले आगामी कात्तिक २१ गतेदेखि प्रिमियम मूल्यमा चुक्ता पुँजीको ३ करोड कित्ता सेयर सर्वसाधारणलाई जारी गर्दैछ । जसमध्ये पहिलो चरणमा वैदेशिक रोजगारीमा गएका नेपालीलाई यही कात्तिक २१ गतेबाट बिक्रीमा ल्याउने भएको छ । कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा १०६ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता २०६ रुपैयाँमा सर्वसाधारणलाई आईपीओ जारी गर्दै छ ।
प्रकाशित मिति : 17:35









