३० जेष्ठ २०८३, शनिबार | Sat Jun 13 2026

शैक्षिक गुणस्तर सुधार गर्न अभिभावकलाई प्रशिक्षण

१८ कात्तिक, भोजपुर । खस्कँदो सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि शिक्षक र अभिभावकालाई तालिम दिइएको छ । सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि टेम्केमैयुङ गाउँपालिका–४ नागीले शिक्षक र अभिभावलाई तालिम दिएको हो । विभिन्न चरणमा यहाँका तीन सयभन्दा बढी अभिभावकलाई शैक्षिक सुधारका लागि खेल्नुपर्ने भूमिकाका विषयमा प्रशिक्षण दिइएको हो । सबै पक्ष मिलेर शिक्षाको मुहान सुधार अभियान सञ्चालन गरेको वडाध्यक्ष हर्कराज राईले बताए । विगतका वर्षहरुबाट नै विभिन्न अभियान सञ्चालन गरेर सामुदायिक विद्यालयको गुणस्तर सुधारमा स्थानीय सरकार जुटेको उनको भनाइ छ ।

“शिक्षाको सुधारका लागि जिल्लामा नै पहिलोपटक यो कार्यक्रम सञ्चालन गरिएको हो”, वडाध्यक्ष राईले भने, “हामीले सबै विद्यालयका शिक्षक र अभिभावकलाई प्रशिक्षण दिएका छौँ, शिक्षाको गुणस्तर सुधारमा अभिभावकसँगै सबै पक्ष जिम्मेवार बन्न आवश्यक छ ।” वडाभित्रका चण्डेश्वरी मावि, ज्ञानोदय प्राथमिक विद्यालय र शारदा प्राथमिक विद्यालयका शिक्षक तथा अभिभावकलाई आ–आफ्नो जिम्मेवारीका विषयमा प्रशिक्षण दिइएको हो । वडाले रु दुई लाख बजेट विनियोजन गरेर साकेला प्राविधिक एकेडेमी धरानको प्राविधिक सहयोगमा पाँच दिनसम्म तालिम सञ्चालन गरेको हो ।

शैक्षिक सुधारका लागि गाउँपालिकाले विभिन्न कार्यक्रम सञ्चालन गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्दीप न्यौपानेले जानकारी दिए । गाउँपालिकाले शिक्षाको क्षेत्रमा दोस्रो प्राथमिकतामा बजेट विनियोजन गरेको उनको भनाइ छ । शैक्षिक सुधारका कार्यक्रम सञ्चालन गरेसँगै विगतको वर्षको तुलनामा परिणाममा समेत सुधार आएको प्रशासकीय अधिकृत न्यौपानेले बताए । “सामुदायिक विद्यालयको गुणस्तर सुधारमा गाउँपालिकाले पहल थालेको छ”, उनले भने, “शिक्षा सुधार गर्न प्राथमिकताका साथ बजेट विनियोजन गरिएको छ, गाउँपालिकाले विभिन्न खालका कार्यक्रम सञ्चालन गरेपछि पछिल्लो समय गुणस्तरमा समेत सुधार आएको अवस्था छ, गुणस्तर सुधारका लागि सबै पक्षले खेल्नुपर्ने भूमिकाको विषयमा सजक गराउँदै आएका छौँ ।”

सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि चार पक्ष जिम्मेवार बन्नुपर्ने चण्डेश्वरी माविका व्यवस्थापन समिति अध्यक्ष पूर्णकुमार राईले बताए । शैक्षिक गुणस्तर सुधारमा विद्यार्थी, शिक्षक, अभिभावक र सरकार जिम्मेवार बन्न आवश्यक रहेको उनको भनाइ छ । “शैक्षिक सुधारका लागि एक÷दुई पक्ष लागेरमात्र सम्भव छैन”, उनले भने, “यसका लागि सबै आफ्नो ठाउँबाट जिम्मेवार बन्न आवश्यक छ, वडाले गरेको यो कामले शैक्षिक सुधारमा टेवा पुग्छ भन्ने हामी आशावादी छौँ ।” अभिभावक विद्यार्थीको पहिलो शिक्षक भएकाले उनीहरुले खेल्नुपर्ने जिम्मेवारीको विषयमा जानकारी दिइएको तालिमका प्रशिक्षक शालिक राईले बताए । अभिभावकले विद्यालयमा भइरहेको शैक्षिक गतिविधिको अवलोकनसँगै बाल मनोविज्ञान अनुसारको व्यवहार गर्न सके शैक्षिक सुधारमा सहयोग पुग्ने उनको भनाइ छ ।

प्रकाशित मिति : November 4, 2023 at 1:23 pm