२२ आश्विन २०८१, मंगलवार | Tue Oct 8 2024

पर्सामा महिला उद्योगी व्यवसायी थपिँदै

१६ कात्तिक, वीरगञ्ज (पर्सा) । पर्साको पोखरिया नगरपालिका–७ की सुनिताकुमारी साह यतिबेला गाउँ नजिकैको चोकमा पसल सञ्चालन गरिरहेका छन् । गत भदौ २१ गते घरेलु तथा साना उद्योग कार्यालयमा उहाँले पसल दर्ता गराएकी छन् । साह यतिबेला असल गृहणीसँगै सफल व्यापारी बन्ने अभियानमा जुटेका छन् । सुरुआतमा श्रीमान्लाई सञ्चालक बनाएर पसल दर्ता गराउने सोचमा रहेकी साहले सरकारले दिएको छुट सुविधाका कारण आफ्नै नाममा पसल दर्ता गराएको बताइन । यसैगरी सीप नभएपछि घरकै काममा मात्र सीमित रहँदै आएकी ठोरी गाउँपालिका–४ की अम्बिका श्रेष्ठले पनि यतिबेला आफ्नै नाममा फेन्सी स्टोर्स दर्ता गराएर व्यवसाय गर्दै आएका छन् ।

सुनिता र अम्बिका मात्रै होइन, सरकारले उद्योग र व्यवसायी दर्ता दस्तुरमा महिलालाई छुट दिएपछि पर्सामा महिला उद्योगी व्यवसायीको सङ्ख्या बढ्दै गएको छ । कुनै बेला महिलालाई सञ्चालक बनाएर उद्योग दर्ता गराउने सङ्ख्या न्यून रहेको पर्सामा विगत केही समययता महिलालाई नै मुख्य सञ्चालक बनाएर उद्योग व्यापार दर्ता गराउने क्रम बढ्ेको पाइएको छ । सरकारले राजपत्रमा सूचना प्रकाशित गरी महिला सञ्चालक भएको कारोबारको उद्योग व्यवसायीका दर्र्तामा ३५ प्रतिशत मात्र दस्तुर लाग्ने व्यवस्था गरेपछि उनीहरुलाई सञ्चालक बनाएर उद्योग व्यापार दर्ता गराउने क्रम बढेको घरेलु तथा साना उद्योग कार्यालय वीरगञ्जका प्रमुख धनञ्जयकुमार सिंहले बताए ।

“दैनिक १० देखि १२ वटासम्म नयाँ उद्योग व्यापार दर्ता हुने गरेको छ , करिब ७० प्रतिशत उद्योग व्यापार महिलाकै नाममा दर्ता हुने गरेको छ”, उनले भने । पुरुषको नाममा उद्योग व्यापार दर्ता गराउँदा बढी दस्तुर लाग्ने भएकाले महिलालाई मालिक बनाएर व्यापार दर्ता गराउने क्रम बढ्ेको छ । घरेलु तथा साना उद्योग कार्यालयका अनुसार चालु आर्थिक वर्ष २०८०÷८१ को तीन महिनामा जिल्लामा तीन सय एक नयाँ उद्योग दर्ता भएकामा एक सय २९ व्यवसायको मालिक महिला नै छन् । चालु आव २०८०÷८१ को तीन महिनामा सेवामूलक एक सय १९, कृषिमूलक ६१, उत्पादनमूलक ५०, निर्माणमूलक ४५ र पर्यटनसम्बन्धी २६ वटा नयाँ उद्योग दर्ता भएको कार्यालयका सूचना अधिकारी सविता खड्काले जानकारी दिए ।

नयाँ उद्योग दर्ता, नवीकरणलगायतका शीर्षकबाट रु २१ लाख ९१ हजार राजस्व सङ्कलन भएको छ । विगतमा उद्योग मात्र दर्ता गर्दै आएको सो कार्यालयले चालु आवदेखि वाणिज्यतर्फका व्यावसायिक फार्मसमेत दर्ता सुरु गरेको सूचना अधिकारी खड्काले बताए । यस्तै वाणिज्य दर्ता, नवीकरणलगायतबाट रु एक लाख ५३ हजार दुई सय राजस्व सङ्कलन भएको छ । महिलाको नाममा दर्ता भएका व्यवसायतर्फ अधिकांश जेनरल स्टोर्स, सिलाइकटाइ टेलरिङ र ब्युटिपार्लर छन् भने उद्योगतर्फ अधिकांश कृषि र माछा तथा पशुपालनका छन् । पछिल्लो समय महिलालाई उद्योग व्यवसायको मालिक बनाउने क्रम बढ्ेको पुष्टि गरेको छ ।

सरकारले महिलाको नाममा दर्ता हुने उद्योग व्यवसायलाई दस्तुरमा छुट दिनु, स्थानीय प्रशासनले पनि उद्योग व्यवसाय दर्ताका लागि कडाइ गर्नु र बैंक तथा वित्तीय संस्थाबाट उद्योग व्यवसायमा ऋण लगानी सहज हुन सक्नेलगायत कारण पनि घरेलु तथा साना उद्योग व्यवसाय दर्ता गराउने क्रम बढ्ेको प्रमुख सिंह बताए । वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अनिलकुमार अग्रवालले भने, “पुरुष प्रधान समाजमा महिलालाई मालिक बनाउने संस्कार पहिला थिएन, तर अहिले महिलालाई सुविधा दिन थालेपछि समाज रुपान्तरण हुन थालेको छ ।”

प्रकाशित मिति : १६ कार्तिक २०८०, बिहीबार १५:०१