३ जेष्ठ २०८१, बिहीबार | Thu May 16 2024

नुवाकोटका ४७ बालुवा प्रशोधन उद्योग बन्द गर्न निर्देशन


१ चैत, नुवाकाेट ।  नुवाकाेटमा सञ्चालनमा रहेका बालुवा प्रशोधन उद्योग (फिरफिरे) मापदण्डविपरीत पाइएपछि बन्द गर्न उद्योग विकास शाखाले पत्र काटेको छ ।

उद्योग विकास शाखाको आयोजनामा आज जिल्ला अनुगमन समितिको संयुक्त टोलीले गरेको अनुगमनमा बेलेकोटगढी नगरपालिकाभित्रका ४७ फिरेफिरे उद्योग सबै बन्द गर्न निर्देशनको पत्र उद्योगीलाई दिइएको शाखाका निर्देशक विजय भट्टराईले जानकारी दिए ।

अनुगमनको पहिलो दिन बेलकोटगढी नगरपालिकाअन्तरगत वडा नं. ५, ७ र ९ मा रहेका फिरेफिरेको अनुगमनमा सबै मापदण्डविपरीत पाइएकाले बन्द गराउन उद्योग शाखामार्फत कारबाही सुरु गरेको प्रमुख जिल्ला अधिकारी वीरेन्द्र यादवले बताए ।

कच्चा सामाग्री धादिङ जिल्लाको खानी देखाएर यहाँ दर्ता भएपनि कुनैपनि उद्योगले त्यसको पालना नगरेको अनुगमनमा पाइएको छ ।

जिल्लामा अवैध उत्खनन गरी खानी सञ्चालन गर्ने र बालुवा प्रशोधनपछिको पानी सिधै नदीमा मिसाउने उद्योग मापदण्ड पूरा नगरी सञ्चालन गर्न रोक लगाइएको जिल्ला प्रहरी प्रमुख वसन्त कुँवरले बताउनुभयो ।

यहाँ रहेका फिरफिरे उद्योग अवैधरुपमा सञ्चालनमा रहेको तथा त्रिशूली लगायतका नदीमा धमिल्याएर प्रदूषण गरेको गुनासोपछि जिल्ला अनुगमन टोलीले संयुक्तरुपमा स्थलगत अनुगमन सुरु गरेको हो ।

प्रकाशित मिति : १ चैत्र २०७४, बिहीबार ०८:०२