किन्ने होइन त ? उन्नति सहकार्य लघुवित्तको एफपीओ निष्काशन मिति तय
१२ कात्तिक, काठमाडौं । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाले आगामी कात्तिक २१ गतेदेखि एफपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १ लाख ७८ हजार ४५१।१८ कित्ता एफपीओ निष्कासन गर्न लागेको हो।
साविकको उन्नति लघुवित्त र सहकार्य लघुवित्त गाभिएपश्चात बनेको उन्नति सहकार्य लघुवित्तको पूँजी संरचना संस्थापक समूहको ७५.४५ प्रतिशत र सर्वसाधारणको २४.५५ प्रतिशत रहेको थियो। सोही पूँजी संरचना ऐन अनुसार कायम गर्न लघुवित्तले एफपीओ जारी गर्न लागेको हो।
कम्पनीको एफपीओमा लगानीकर्ताले कात्तिक २४ गतेसम्म आवेदन दिन सक्नेछन्। एफपीओमा न्यूनतम १० कित्ता र अधिकतममा १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ। कम्पनीको एफपीओ निष्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।
एफपीओ निष्कासनका लागि गराएको रेटिङ्गमा क्रेडिट रेटिङ्ग कम्पनी इक्रा नेपालले लघुवित्तलाई इक्रा एनपी इस्यूअर रेटिङ्ग बी प्लस प्रदान गरेको छ। यसले लघुवित्तको वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ।
प्रकाशित मिति : October 29, 2023 at 9:15 am










