३० जेष्ठ २०८३, शनिबार | Sat Jun 13 2026

बर्खामा ज्यानको बाजी थापेर खोला तर्ने बाध्यता हट्यो

१० कात्तिक, दमौली । वारी भिमाद नगरपालिका, पारी शुक्लागण्डकी नगरपालिकाको बीचमा बगेको बरखोला हिउँदमा सामान्य भएपनि बर्खामा उर्लेर बहने हुँदा तर्न सर्वसाधारणलाई जोखिम थियो । खोला वारपार गर्नका लागि ज्यानको बाजी थापेर तर्नुको विकल्प थिएन तर अहिले पक्की पुल निर्माण भएपछि सो समस्या समाधान भएको छ । दुई पालिकालाई जोडेको सो पक्की पुलले यस भेगका हजारौं सर्वसाधारण लाभान्वित भएका छन् । पक्की पुल निर्माणसँगै जीवनस्तर सहज हुनेमा स्थानीयवासी खुसी छन् । “पुल बनेपछि जोखिम मोलेर खोला तर्नुपर्ने बाध्यता अन्त्य भयो,” स्थानीयवासी इमानबहादुर थापाले भने ।

“खोला तर्र्न बनाइएको बाँसको फड्के पटक–पटक खोलाले बगाइदिने गरेको थियो,” उनले भने, “खोला उर्लिदा सवारीसाधन चल्दैन थियो । चर्को घाम लागेपछि उर्लिएको खहरे खोला सुक्ला र खेतबारीको काममा जाउँला भन्दैमा दिन बित्छ । अब त पुल बनेपछि सहज भयो ।” विद्यालय, बजार, कार्यालय जान खोला तर्नुको विकल्प नभएकाले जोखिम मोलेरै भएपनि खोला तर्नुपर्ने समस्यामा स्थानीयवासीमा रहँदै आएको थियो । स्थानीयवासी शिवकुमार आलेले पुल निर्माण भएपछि आफूहरुलाई राहत मिलेको बताए ।

गण्डकी प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालयले उपलब्ध गराएको बजेटमा शुक्लागण्डकी नगरपालिका–११ र भीमाद नगरपालिका–९ जोड्न बरखोलामा रु तीन करोड ९८ लाख ६३ हजार दुई सय ७७ को लागतमा सो पुल मुक्तिनाथ दिपज्योति ज्वाइन्ट भेञ्चर कम्पनीले निर्माण गरेको शुक्लागण्डकी नगरपालिका–११ का वडाध्यक्ष शालिकराम भट्टराईले जानकारी दिए । विसं २०७७ कात्तिक २६ गते शिलान्यास भइ निमार्ण गरिएको सो पुल ३२दशमलव चार मिटर लामो छ ।

विसं २०७८ असार २२ गतेसम्म पुल निर्माण गरिनुपर्नेमा विविध कारणले एक वर्ष ढिला हुन पुगेको उहाँको भनाइ थियो खोलाले वर्षामा अत्याधिक कटान गर्ने भएकाले त्यसलाई रोक्न दायाँ बायाँ एक हजार तीन सय घनमिटरको ग्याबिन भरिएको छ । भिमाद नगरपालिकाका प्रमुख दधिराज सुवेदीले पक्की पुलले शुक्लागण्डकी र भिमाद मात्र नभई स्याङ्जाका केही भागका सर्वसाधारण पनि लाभान्वित हुने बताए ।

प्रकाशित मिति : October 27, 2023 at 3:39 pm