४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

अमेरिकाको क्यालिफोर्नियामा मुक्तिानाथ धाम निर्माण हुँदै


३ कार्तिक, क्यालिफोर्निया । अमेरिकाको क्यालिफोर्निया राज्यको रिचमण्ड सहरमा मुक्तिानाथ धाम निर्माणको काम अन्तिम चरणमा पुगेको छ । मुक्तिनाथ धामभित्र शिव र बुद्धको मुर्ती प्रतिस्थापन गरिने छ । धाममा मुर्ती प्रतिस्थापनका लागि कानुनी पक्रिया पूरा गरेर नेपालबाट ल्याउने तयार भैरहेको छ । १२ लाख अमेरिकी डलर लागत लाग्ने अनुमान गरिएको छ ।

नेपाली रूपैयाँ करिब १५ करोडमा निर्माण सम्पन्न हुनेछ । क्यालिफोर्नियामा बस्ने नेपालीहरूको संस्था मुक्तिनाथ कर्पोरेशनले धाम निर्माण गर्न लागेको हो । कम्पनीको सेयर नेपाली समूदायका सदस्यहरूलाई बिक्री गरेर सेयर बापत उठेको पैसाले धाम निर्माणको काम भैरहेको हो ।

कम्पनीका अध्यक्ष बालकृष्ण आचार्यले कम्पनीको सेयर किनेर वा चन्दा दिएर दुई मध्ये एक बाटोबाट आफूले पनि धाम निर्माणमा योगदान गर्न सकिने बताएका छन । रिचमण्डमा नेपालीहरूको संख्या निरन्तर बढीरहेको परिप्रेक्ष्यमा मन्दिरको आवश्यकता पनि खड्किएका अध्यक्ष आचार्यले बताए ।

निर्माण सम्पन्न भएपछि धाममा आगामी दिनमा नेपाली संस्कार र संस्कृति अनुसार हुने बिबाह, ब्रतबन्ध लगायतका काम गर्न सकिनेछ । धाममा धर्मशाला पनि बन्ने भएकाले नेपाली समूदायका व्यक्तिहरूका लागि अस्थायी बसोबासमा समेत सहयोग पुग्नेछ । कुनै कारणले समस्यामा परेर बास बिहीन हुने अवस्थामा पुगेका नेपाली लागि समेत उक्त धाम उपयोगी हुनेछ ।

तिहारको आसपासमा मन्दिर निर्माणको काम सकिने अध्यक्ष आचार्यले बताए । नेपाल बाहिर नेपालीको संख्या ठूलो भएका सहरहरू मन्दिरहरू निर्माण गर्ने र महत्वपूर्ण चाडपर्वमा एकै ठाउँमा भेला भएर मनाउने प्रचलन बढेको छ । अमेरिकाकै विभिन्न सहरमा नेपालीहरूले निर्माण गरेका मन्दिरहरू पनि रहेका छन ।

प्रकाशित मिति : ३ कार्तिक २०८०, शुक्रबार २१:२९