५ जेष्ठ २०८१, शनिबार | Sun May 19 2024

एनआरएनए निर्वाचनः अध्यक्षमा श्रेष्ठ र महासचिवमा सुवेदीको उम्मेदवारी दर्ता


२९ असाेज, काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्ष पदमा महेशकुमार श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् । अहिले कार्यसमितिमा उपाध्यक्ष श्रेष्ठले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका हुन् । उम्मेदवारी दर्तापछि उनले संघलाई परिवर्तन, रुपान्तरण र एकताबद्ध बनाएर लैजाने उद्ंघोष गरे । ‘यतिबेला एनआरएनएमा अविश्वास बढेको छ, विदेशमा रहेका नेपालीहरुको भावना विभाजित भएको र काम भन्दा कुरा बढी गर्नेहरुको हावी भइरहेकाले भावनात्मक र परिणामूखी काम गर्न मेरो नेतृत्व आवश्यक छ’ उनले भने ।

अध्यक्षमा उम्मेदवारीका लागि श्रेष्ठको प्रस्तावकमा स्वीजरल्याण्डका गुणराज शर्मा र साउदी अरबका दिपक रेग्मी रहेका छन् भने समर्थकमा नेदरल्याण्डका मीन पूर्जा र माल्टाका रेमलाल खनाल रहेका छन् ।

एनआरएनए रुपान्तरणका लागि पाँच बुँदे प्रतिबद्धतासहित अध्यक्षको उम्मेदवारी दिएका श्रेष्ठले असन्तुष्ट रहेको शेष घले समूहलाई तीन महिनाभित्र एकताबद्ध गराइछाड्ने प्रतिबद्धता जनाउँदै आएका छन् ।

यस्तै महासचिवमा बुद्धिसागर सुवेदीले उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्तापछि सुवेदीले चुस्त, दुरुस्त र परिणाममुखि काम नै आफ्नो पहिलो प्राथमिकता रहेको बताए ।

‘हामी सबैको संस्था हो भन्ने भावनामा जोड्न चाहन्छौं र यो संस्थालाई एकताको भावनाका साथ अघि बढ्न चाहन्छौं र हामीले सबैको भावना बुझेर भोलीको दिनमा काम गर्नेछौं’ महासचिवका उम्मेदवार बुद्धिसागर सुवेदिले भने, ’महेश कुमार श्रेष्ठ सबैलाई मिलाएर लैजान सक्ने, मृदुभाषी र हिजोको दिनमा उहाँले गरेका कामको इतिहासलाई हेर्दा पनि अबको अध्यक्ष महेश कुमार श्रेष्ठ नै हुनुहुनेछ र उहाँको नेतृत्वमा हामी सबै बिजयी हुनेछौं भन्ने कुरामा म पूर्ण विश्वस्त छु ।’

गैर आवासीय नेपाली संघ एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषदको ११ औं महाधिवेशन तथा विश्व सम्मेलन मंगलबारबाट काठमाडौंको सोल्टी होटलमा सुरु हुँदैछ । महाधिवेशनले आगामी दुई बर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नेछ ।
विश्वभरका ४२ सय एनआरएनए प्रतिनिधिहरुले अनलाईन तथा महाधिवेशन स्थलमा भौतिक रुपमा मतदान गरि नयाँ नेतृत्व चयन गर्नेछन् ।

प्रकाशित मिति : २९ आश्विन २०८०, सोमबार १३:०१