१३ जेष्ठ २०८१, आईतवार | Sun May 26 2024

एनआरएनए महासचिवका प्रत्यासी सुवेदी काे हुन् ?


२४ असाेज, काठमाडाैं । गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी)को ११औं महाधिवेशनमा महासचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका बुद्धिसागर सुवेदी आफ्नो उम्मेदवारी र अभियान बोकेर सुझाव संकलन गर्दै विभिन्न देशमा छलफल र भेटघाट गरिरहेका छन् ।

आगामी वर्ष २०२३–०२५ को कार्यकालका लागि योजना र प्रतिबद्धतासहित मैदानमा उत्रिएका सुवेदी अक्टोबर १७ देखि सुरू हुने महाधिवेशनमा महेशकुमार श्रेष्ठको प्यानलबाट महासचिव पदका उमेदवार छन् ।

काे हुन् सुवेदी ?

हाल विस्कन्सिन, अमेरिका निवासी बुद्धीसागर सुवेदी एक कुशल व्यवस्थापक, गैर आवासीय नेपाली संघ एनआरएनए तथा सामाजिक अभियन्ता हुन् । सन् २०१० देखि एनआरएनए अभियानमा संलग्न सुवेदी एनआरएनए राष्ट्रिय समन्वय परिषद् अमेरिका विन्स्कन्सिनको संस्थापक च्याप्टर अध्यक्ष, अमेरिकाको उपाध्यक्ष, निबर्तमान अध्यक्ष हुँदै गैर आवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) को ११औँ महाधिवेशनमा महासचिवको प्रत्यासी हुन् ।

चितवनका सुबेदीको पुर्खौली थलो भने स्याङ्जा हो । त्यसैले उनि ग्रामिण, सहरी र विदेशी सबै परिवेश बुझेका सकारात्मक सोचका साथ काम गर्ने व्यक्तिको रुममा परिचित छन् ।

आईएसी फरेस्टी, बि कम, एमविए र एमएड अध्ययन गरका उनि, एलएलवी अध्ययन गर्दै गर्दा तथा त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन गरिरहँदा सन् २००३ मा डिभी परेपछि अमेरिका पुगेका थिए । सुबेदीले कालिकोटको सत्यदेवी मावि जुबिथा, स्कुलमा प्रधानाध्यापक देखी जितपुर क्याक्पस हुँदै मिनभवन क्याम्पसमा समेत अध्यापन गराएको अनुभव संगालेका छन् ।

उनले यसअघि राष्ट्रिय समन्वय परिषद् अमेरिकाको अध्यक्ष हुँदा नमुना काम गरेका थिए । सबैभन्दा बढी सदस्य रहेको एनसीसीे बनाउँदै, एनआरएनए अमेरिकाको कार्यालय सञ्चालनका लागि आफैँ भवन खरिद समितिको संयोजक भएर, झोलामा रहेको संस्थालाई आफ्नै भवनमा पुर्याउन नेतृत्व गरे ।

जुन ८२ राष्ट्रिय समन्वय समितिमा आफ्नै घर हुने पहिलो समिति हो । त्यसैगरी कोभिडको समयमा उनले अमेरिकाबाट ३ करोड ६० लाख बराबरको स्वास्थ्य सामग्री नेपाल पठाएका थिए ।

एनआरएनए अभियानका साथ आफ्नो व्यवसायमा सक्रिय उनले अमेरिका र नेपालमा धेरै क्षेत्रमा ठुलो लगानी गरिसकेका छन् । सुवेदीले अमेरिकामा हायात, होलिडे ईन, ह्यम्पटन, विज्डम लगाएतका होटल र सुपरमार्केटहरु संचालन गर्दै अमेरिकामै दुई सय बढी नेपालीलाई रोजगारी दिएका छन् । उनले नेपालमा पनि विभिन्न क्षेत्रमा लगानी गरेका छन् । सुवेदीले केही समयअघिमात्र भैरहवामा रहेको पाँचतारे टाइगर प्यालेस रिसोर्ट खरिद गरेका थिए ।

सुवेदी महासचिवको उम्मेदवारीका बारेमा प्रष्ट पार्न र त्यहाँका एनआरएनएहरूको सुझाव संकलन गर्न विभिन्न देशका राष्ट्रिय समन्वय परिषद्सँग छलफल र भेटघाटमा व्यस्त रहँदै हाल उनि नेपाल आइपुगेका छन् ।

यस्ता छन सुवेदीका प्रतिवद्धता

महासचिवका उम्मेदवार सुवेदीले एनआरएनलाई आमुल परिवर्तन गर्नको लागी आवश्यक पद्धति र आर्थिक पारदर्शीता सहितको एनआरएनए बनाउने एजेण्डा स्थापित गर्न र वंशजको आधारमा नागरिकताको निरन्तरताका लागि राजनैतिक दलहरु र सरकारसँग आवश्यक संवाद मार्फत कार्यान्वयन गर्न, महिला, युवा लगायत दोश्रो पुस्ता र श्रमिकमैत्री बनाउँदै एनआरएनए अभियानमा सबै गैरआवासीय नेपालीलाई जोड्ने बताएका छन ।

पछिल्लो समय सबैको माझा लोकप्रिय, हँसिला र सरल स्वभावका सुबेदीले संस्थागत बिकास र एनआरएनएमा सबैको अपनत्व बोधको लागि महासचिवमा सहयोग गरिदिन अनुरोध गरेका छन ।

यस्तै, सबैलाई एनआरएनएमा सहभागिताको सुनिश्चितता गराउन साथै नेपाली कला संस्कृति, संस्कार अनि परम्परालाई नेपाली डायस्पोरामा पुर्याउन, गैर आवासीय नेपाली संघले सञ्चालन गरेको परियोजना र गतिविधिहरुको पारदर्शितारूपमा सुरुवात गर्दै सचिवालय सञ्चालन गर्ने र अनावश्यक आर्थिक चलखेल र अनियमितालाई रोक्ने र अनावश्यक कर्मचारी समेत कटौती गर्न आफ्नो उमेद्धवारी रहेको सुवेदीको भनाइ छ ।

गैर आवासीय नेपाली संघको पंजीकृत सदस्य र राष्ट्रिय समन्वय परिषदहरु स्वाधीनता र स्वतन्त्रतामा हस्तक्षेप नगरी समन्वयकारी भूमिका निर्वाह गरेर विधानको पूर्ण कार्यान्वयनका लागी आफू र आफू नेतृत्वको टिम पूर्ण प्रतिबद्ध हुँदै संघलाई एनआरएनको मन मस्तिष्कसँग जोड्ने उनको योजना छ । गैरआवासीय नेपालीहरूको सम्मान नै आफ्नो पहिचान भएको बताउँने उनले, एनआरएनलाई राम्रो संस्था बनाउने आफ्नो मुख्य लक्ष्यमा सबैको सहयोग र मतको अपेक्षा गरेका छन् ।

प्रकाशित मिति : २४ आश्विन २०८०, बुधबार १३:२०