२१ आश्विन २०८१, सोमबार | Mon Oct 7 2024

अन्तरराष्ट्रिय दिगो पर्वतीय विकास तथा पर्यटन सम्मेलन

२० असोज, कास्की । पर्यटकीय सहर पोखरामा दिगो पर्यटनका विषयमा गहन छलफलका लागि दोस्रो संस्करणको अन्तरराष्ट्रिय दिगो पर्वतीय विकास तथा पर्यटन सम्मेलन सुरु भएको छ । गण्डकी प्रदेशको राजधानीसमेत रहेको पोखरा सम्मेलनमा नेपालसहित भारत, चीन, संयुक्त राज्य अमेरिका, बेलायत, जापान, भियतनाम, स्पेन र पोल्यान्डका प्रतिष्ठित वैज्ञानिक र प्राज्ञिक विज्ञहरु सहभागी भएका पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले जानकारी दिए । उनका अनुसार सम्मेलनमा एक सय बढीको सहभागी छन् ।

“शुक्रबार उद्घाटन गरिएको सम्मेलनको औपचारिक कार्यक्रम तथा छलफल आजदेखि सुरु भएको छ”, उनले भने, “सम्मेलन यही असोज २१ गतेसम्म सञ्चालन हुने छ ।” उक्त सम्मेलनमा ७० भन्दा बढी प्राविधिक विषयमा छलफल र मुख्य प्रस्तुति रहने अध्यक्ष श्रेष्ठले जानकारी दिए । उनका अनुसार काठमाडौँ विश्वविद्यालय र जापानको होक्काइडो विश्वविद्यालयको आयोजना तथा नेपाल पर्यटन बोर्डको आतिथ्यमा दोस्रो अन्तरराष्ट्रिय दिगो पर्वतीय विकास तथा पर्यटन सम्मेलन आयोजना गरिएको हो ।

सम्मेलनको पहिलो दिन भू–संरक्षण, भू–पार्क र भू–पर्यटन, पहाडी संरक्षित क्षेत्रमा दिगो मनोरञ्जन प्रयोगको प्रावधान सुनिश्चितता, पहाडी नदीहरूमा भौगोलिक विविधता र कनेक्टिभिटी लगायतका प्राविधिक विषयहरुमा छलफल भएको थियो । दिगो पर्यटन, जवलायु परिवर्तन र यसको असर तथा प्रभाव लगायतका विषयमा कार्यपत्र प्रस्तुत हुने श्रेष्ठले बताए । विश्वव्यापी रूपमा भइरहेको जलवायु परिवर्तन र यसले हिमालय, पर्वतीय पर्यटन र समग्र वातावरणमा पारेको असरबार छलफल हुने उहाँको भनाइ थियो । गत वर्ष मङ्सिर १५, १६ र १७ गते काठमाडौँको चन्द्रागिरीमा प्रथम अन्तरराष्ट्रिय दिगो पर्वतीय विकास सम्मेलन आयोजना गरिएको थियो ।

सम्मेलनको उद्घाटन गर्दै गण्डकी प्रदेशका अर्थमन्त्री जीतबहादुर आले मगरले जलवायु परिवर्तन विश्वको साझा मुद्दा भएको उल्लेख गरेका छन् । जलवायु परिर्वतनको जोखिम न्यूनीकरणका लागि विश्व समुदायको साझा चासो र चिन्ता आवश्यक भएकामा उनले जोड दिए । नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा धनञ्जय रेग्मीले सम्मेलनले दिगो पर्वतीय पर्यटनका चुनौती र उत्कृष्ट अभ्यासका बारेमा विश्वव्यापी रूपमा छलफल गर्ने तथा विचार आदानप्रदान गर्न उपयुक्त मञ्च प्रदान गर्ने बताए ।

गत वर्षको सम्मेलनमा पर्वतीय पर्यटन विकासका लागि हिमालको संरक्षण अपरिहार्य रहेको, संरक्षण गर्न नसके प्राकृतिक र मानव दुवै क्षेत्रमा गम्भीर परिणाम ल्याउने भन्दै सरोकारवालाहरूलाई गम्भीर बन्न सुझाव दिइएको थियो । पर्यटनका लागि हिमालको दिगो व्यवस्थापनका लागि सरोकारवाला सबैको चासो र एकीकृत प्रयास आवश्यक भएको निष्कर्ष सम्मेलनको थियो ।

प्रकाशित मिति : २० आश्विन २०८०, शनिबार १८:४५