सर्वसाधारणले १५ लाख कित्तासम्म खरीद गर्न पाउने आईपीओ बिक्री खुला, प्रतिकित्ता कति ?
१४ असाेज, काठमाडाैं । सोनापुर मिनरल्स एन्ड आयलले आज असोज १४ गतेदेखि सर्वसाधारणका लागि प्रिमियम मूल्यमा आईपीओको बिक्री खुलाएको छ ।
कम्पनीले सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित मूल्यमा १३७.५८ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २३७.५८ रुपैयाँका दरले आईपीओ बिक्री खुलाएको हो । कम्पनीले कुल ९७ लाख ३२ हजार ५४४ कित्ता आईपीओ बिक्रीमा राखेको छ । जसमा स्थानीयलाई जारी गरिएको आईपीओमा बिक्री हुन बाँकी १४ लाख ३ हजार ५ कित्ता सेयर थप गरिएको छ।
कम्पनीले जारी पुँजी ३ अर्ब ७ करोड ५० लाख ५० हजार रुपैयाँको ४० प्रतिशतले हुन आउने १ अर्ब २३ करोड २० हजार रुपैयाँको कुल १ करोड २३ लाख २०० लाख कित्ता आईपीओ ल्याउने अनुमति पाएको थियो। पहिलो चरणमा कम्पनीले उद्योग प्रभावित स्थानीयका लागि १०० अंकित मूल्यमा १२५ रुपेयाँ प्रिमियम थप गरी प्रतिसेयर २२५ रुपैयाँमा १५ लाख ३७ हजार ५२५ कित्ता आईपीओ बिक्री गरिसकेको छ।
यसैगरी कम्पनीले सर्वसाधारणका लागि छुट्याइएको कुल कित्ताको १० प्रतिशतले हुन आउने वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि १२ लाख १६ हजार ५६८ कित्ता बिक्री गरिसकेको छ।
कम्पनीले सामूहिक लगानी कोषलाई ६ लाख ८ हजार २८४ कित्ता र कर्मचारीलाई ६ लाख ८ हजार २८४ कित्ता छुट्याएको छ। अब स्थानीयमा बिक्री नभएको कित्तासहित कुल ९७ लाख ३२ हजार ५४४ कित्तामा सर्वसाधारणले आवेदन दिन पाउनेछन्।
उक्त आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १५ लाख कित्तासम्म आवेदन दिन सकिनेछ। कम्पनीकाे आईपीओ बिक्री प्रबन्धक एनआईएमबी एस क्यापिटल रहेको छ। कम्पनीकाे आईपीओमा छिटोमा असोज १७ गते र ढिलोमा असोज २८ गतेसम्म आवेदन दिन सकिनेछ ।
लगानीकर्ताले यो आईपीओमा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् ।
प्रकाशित मिति : 09:19









