१६ जेष्ठ २०८३, शनिबार | Sun May 31 2026

राष्ट्रिय वाणिज्य बैंक र एनबीआईबीच बैंकिङ तालिम सञ्चालन गर्ने सम्झौता

१० भदाै, काठमाडाैं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेसनल बैंकिङ इन्स्टिच्युट लिमिटेड (एनबीआई)बीच सर्टिफिकेसन कोर्सको बैंकिङ तालिम सञ्चालन गर्ने सम्झौता भएको छ।

सम्झौतापत्रमा बुधबार बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र एनबीआईका प्रमुख कार्यकारी अधिकृत कुमार लम्सालले हस्ताक्षर गरेका छन्। सम्झौतापश्चात चालु आर्थिक वर्षमा २०८०–८१मा राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीको कार्यदक्षता अभिवृद्धिका लागि एनबीआईले हाललाई १ हजार कर्मचारीलाई JANBI, CANBI, Moody’s लगायतको सर्टिफिकेसन कोर्सको बैंकिङ तालिम प्रदान गर्नेछ।

समारोहमा बैंंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकले लिएको उद्देश्य हासिल गर्नका लागि नियमित रुपमा कर्मचारीहरुलाई तालिम दिइरहेको बताए। उनले तालिमले तालिम लिने व्यक्ति र संस्था दुवैको कार्यदक्षता वृद्धि भई जोखिम न्यूनीकरण हुने पनि बताए।

एनबीआईका प्रमुख कार्यकारी अधिकृत कुमार लम्सालले बैंकिङ क्षेत्रमा राष्ट्रिय वाणिज्य बैंकले कर्मचारीलाई प्राथमिकताका साथ तालिम दिने गरेको उल्लेख गर्दै तालिमले संस्थाको उत्पादकत्वमा वृद्धि हुने बताए।

बैंककी नायब प्रमुख कार्यकारी अधिकृत सरस्वती अधिकारीले कार्यक्रमबारे प्रकाश पार्दै बैंकले कर्मचारीलाई अन्तर्राष्ट्रियस्तरको तालिम प्रदान गर्ने बताइन्।

समारोहमा बैंकका उपकार्यकारी अधिकृतहरु देवेश प्रसाद लोहनी, विनय रमण पौडेल, दुर्गाकुमारी कँडेल, मानव संशाधन विभागका विभागीय प्रमुख भीमप्रसाद घिमिरे, सिकाइ तथा विकास विभागका विभागीय प्रमुख पध्मा लक्ष्मी जीसी, एनबीआईका डिजिएम धन थापा, शैक्षिक निर्देशक प्रमोद बोहरा, बन्दना रोक्का, सम्झना दाहाललगायतको उपस्थिति थियो।

बैंकको हाल सातै प्रदेश ७७ जिल्लामा २८४ वटा शाखा कार्यालय, ६५ वटा एक्सटेन्सन काउन्टर, २६९ वटा एटीएम र ९९ वटा शाखारहित बैंकिङ रहेको छ।

प्रकाशित मिति : September 27, 2023 at 1:16 pm