८ आश्विन २०८१, मंगलवार | Tue Sep 24 2024

कुशलको कीर्तिमानः बने टी–२० मा सर्वाधिक छिटो शतक प्रहार गर्ने खेलाडी

१० असोज, काठमाडाैँ । नेपाली टिमका कुशल मल्ल टी–२० मा सर्वाधिक छिटो शतक प्रहार गर्ने खेलाडी बनेका छन् । १९ औँ एशियाली खेलकुद अन्तर्गत क्रिकेटमा मंगोलियासँगको खेलमा मल्ले ३४ बलमा शतक पुरा गरेर कीर्तिमान बनाएका हुन् ।

उनले ५० बलमा अविजित एक सय ३७ रन बनाए । टी–२० मा यसअघि ३५ बलमा शतक बनेको थियो । ३५ बलमा भारतका रोहित शर्मा, दक्षिण अफ्रिकाका डेविड मिलर र चेकरिपब्लिनका सुदेश बिक्रमशेखरले प्रहार गरेका थिए । तर, टी–२० क्रिकेटमा क्रिस गेलले ३० बलमै शतक बनाएका छन् । बेंग्लोरबाट खेलेका उनले आईपीएलमा सन् २०१३ मा पुणे वारियर्ससँगको खेलमा ३० बलमा शतक बनाएका थिए ।

यस्तै नेपालकै दीपेन्द्र सिंह ऐरी सर्वाधिक छिटो अर्धशतक प्रहार गर्ने खेलाडी बनेका छन् । मंगोलियासँगको खेलमा उनले ९ बलमै अर्धशतक प्रहार गरे । यसअघि टी–२० मा सर्वाधिक छिटो अर्धशतक भारतीय खेलाडी युवराज सिंहले सन् २००७ मा इंग्ल्यान्डसँगको खेलमा १२ बलमै पूरा गरेका थिए ।

ऐरीले अन्तर्राष्ट्रिय कुनै पनि खेलमा सर्वाधिक छिटो अर्धशतकको कीर्तिमान बनाएका हुन् । उनले १९ औँ ओभरको अन्तिम पाँच बलमा लगातार पाँच छक्का हाने । नेपालबाट यसअघि ज्ञानेन्द्र मल्लले १८ बलमा अर्धशतक पूरा गरेका थिए । ज्ञानेन्द्रले सन् २०१२ मा साउदी अरबसँगको खेलमा यो अर्धशतक पूरा गरेका थिए । कुशल मल्ल र दीपेन्द्र सिंह ऐरीको विश्व कीर्तिमानी ब्याटिङमा नेपालले मंगोलियालाई ३ सय १५ रनको कीर्तिमानी लक्ष्य दिएको छ ।

प्रकाशित मिति : १० आश्विन २०८०, बुधबार ०९:५३