१ असार २०८३, सोमबार | Mon Jun 15 2026

कक्षा १२ को ग्रेडवृद्धि परीक्षा आजदेखि सुरु

भक्तपुर, ९ असोज । राष्ट्रिय परीक्षा बोर्डले आजदेखि कक्षा १२ को ग्रेडवृद्धि परीक्षा सुरु गरेको छ । बोर्डका अध्यक्ष डा महाश्रम शर्माले गत साउन ३० गते भएको कक्षा १२ को नतिजा सार्वजनिकमा ‘नन ग्रेडेड’ (एनजी) ल्याएका विद्यार्थीहरूका लागि आजदेखि ग्रेड वृद्धि परीक्षा सञ्चालन गरिएको जानकारी दिए । कक्षा १२ को परीक्षाफलमा ननग्रेड अर्थात् एनजी ल्याउने विद्यार्थीका लागिमात्र ग्रेडवृद्धि परीक्षा सञ्चालन गरिएको हो ।

बोर्डका परीक्षा नियन्त्रण कृष्णप्रसाद शर्माले आज र बुधबार दुई दिन परीक्षा सञ्चालन हुने जानकारी दिए । उनले बिहान ११ बजेदेखि सुरु भएको परीक्षा अपराह्न २ बजेसम्म सञ्चालन हुने जानकारी दिए । आज पहिलो दिन एक विषयमा मात्र परीक्षा दिने परीक्षार्थीहरूको सबै विषयको परीक्षा, दुई विषयमा परीक्षा दिने परीक्षार्थीहरुका लागि आफुले परीक्षा दिने विषयमध्येको सानो कोड नम्बर भएको विषय तर अनिवार्य अङ्ग्रेजी तथा अनिवार्य नेपाली दुवै विषयमा ग्रेडवृद्धि परीक्षामा सहभागी हुने परीक्षार्थीले पहिलो दिन अनिवार्य अङ्ग्रेजी र दोस्रो दिन अनिवार्य नेपाली विषयको परीक्षा हुनेछ ।

त्यस्तै दोस्रो दिन दुई विषयमा परीक्षा दिने परीक्षार्थीका लागि आपूmले परीक्षा दिने विषयमध्येको ठूलो कोड नम्बर भएको विषयको परीक्षा हुने उहाँले जानकारी दिए । देशभरका कूल चार सय १९ परीक्षा केन्द्रमा एकै साथ सुुरु भएको परीक्षामा एक लाख २३ हजार तीन सय ९६ परीक्षार्थी ग्रेड वृद्धि परीक्षामा सहभागी भएका छन् । त्यसमध्ये एक विषयमा मात्र नन ग्रेडेड अर्थात् एनजी आउने ७९ हजार पाँच सय ८४ विद्यार्थी परीक्षामा सहभागी छन् । लेटर ग्रेडिङ निर्देशिकाअनुसार कुनै विषयमा ३५ प्रतिशत अङ्क पनि नल्याएमा ननग्रेडेड (एनजी) हुन्छन् । परीक्षा देशभरका परीक्षा केन्द्रमा शान्तिपूर्ण रुपमा सुरु भएको परीक्षा नियन्त्रक शर्माले जानकारी दिए ।

प्रकाशित मिति : September 26, 2023 at 12:36 pm