२८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026

सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्दै माथिल्लो मैलुङ खोला, कति दिने आवेदन ?

९ असोज, काठमाडौं। माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडले असोज १८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँड गरे पश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो।

कम्पनीले जारी पूँजी १ अर्ब रुपैयाँको १५ प्रतिशतले हुन आउने १५ करोड रुपैयाँ बराबरको १५ लाख कित्ता सेयर सर्वसाधारणमा निष्काशनका लागि छुट्याएको थियो। सोमध्ये १० प्रतिशतले हुन आउने १ करोड ५० लाख रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित दरका १ लाख ५० हजार कित्ता साधारण सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गरिसकेको छ। त्यसैगरी, सोमध्ये ७५ हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि बाँडफाँड गरिसकेको छ।

अब कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरी बाँकी रहेको ९ हजार २०० कित्ता सेयर सहित कुल १२ लाख ८४ हजार २०० कित्ता सेयर सर्वसाधारणमा बिक्री गर्न लागेको हो। उक्त आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र  अधिकतममा १० हजार कित्ताका लागि छिटोमा असोज २२ गते र ढिलोमा कात्तिक २ गतेसम्म आवेदन दिन सक्नेछन् ।

कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले निर्माण गरेको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।

प्रकाशित मिति : September 26, 2023 at 9:26 am