१ असार २०८३, सोमबार | Mon Jun 15 2026

संस्कृति र प्रकृतिमैत्री पर्यटन हुनुपर्छ : पर्यटनमन्त्री किराती

६ असोज, कास्की । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले अबको पर्यटन संस्कृति र पर्यटनमैत्री हुनुपर्ने बताए । विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले सञ्चालन गर्दै आएको ‘हेम देवी धर्म संस्कृति तथा समाजसेवा पुरस्कार–२०८०’ अर्पण समारोहलाई आज पोखरामा सम्बोधन गर्दै उनले नेपाली पर्यटनलाई नेपालको मौलिकतामा विकास गर्नुपर्ने बताए । उनले भने, “अबको पर्यटनको विकासको ‘मोडालिटी’ संस्कृति र प्रकृतिमैत्री हुनुपर्दछ, अर्काको देशको नक्कल गरेर हामीले कहिल्यै पनि प्रतिस्पर्धा गर्न सक्दैनौँ, नेपाली मौलिकताको पर्यटन संस्कृति र प्रकृतिको समायोजननै हो ।”

पर्यटनमन्त्री किरातीले केही वर्षमा नै नेपाल संसारकै पर्यटनको केन्द्र बन्ने उल्लेख गरेका छन्। विश्वका लाखौँ पर्यटक एकान्तमा ध्यानका लागि नेपालजस्तो सुन्दर भूमिमा आउने उल्लेख गर्दै उहाँले प्रत्येक चोक, मन्दिर, वेशभूषा तथा भाषाभाषी पर्यटनका गन्तव्य बन्ने जिकिर गरेका छन् । गण्डकी प्रदेशका दुई प्रख्यात धार्मिकस्थल मुक्तिनाथ र विन्ध्यवासिनीलाई धार्मिक पर्यटनसँग जोड्नुपर्नेमा उनले जोड दिए । “पाहुनाको सुन्दर मनलाई विन्ध्यवासिनीको दर्शनले थप सुन्दर बनाउने छन्, तपाईको जति सफा हृदय छ त्यति नै यहाँ आएर थप शुद्धता भएर जानुपर्दछ भनेर पर्यटकलाई आकर्षित गर्नु आवश्यक छ”, मन्त्री किरातीले भने ।

कार्यक्रममा मन्त्री किरातीले मुक्तिनाथ पीठाधीश्वर स्वामी कमलनयनाचार्य महाराज (मुक्तिनाथ बाबा)लाई ‘हेम देवी धर्म संस्कृति तथा समाज सेवा पुरस्कार–२०८०’बाट पुरस्कृत गरेका थिए । पुरस्कारको राशि रु एक लाख एक हजार र सम्मानपत्र रहेको छ । विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका संस्थापक अध्यक्ष हेमबहादुर प्रधानले आफ्ना बुबा÷आमाको नाममा रु १५ लाखको अक्षयकोष खडा गरी सो पुरस्कार स्थापना गरेका थिए ।

समितिका अध्यक्ष गणेबहादुर श्रेष्ठले नेपालको पवित्र तीर्थस्थल मुक्तिनाथ, विन्ध्यवासिनी, बागलुङको पञ्चकोटलगायतका धार्मिकस्थल तथा शक्तिपीठको विकास एवं सनातन धर्म संस्कृतिमा पु¥याएको योगदानस्वरुप स्वामी कमलनयनाचार्यलाइृ सो पुरस्कार प्रदान गरिएको बताए । नेपालको सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तिलाई हरेक दुई वर्षमा सो पुरस्कार प्रदान गर्ने गरिएको समितिका सचिव तीर्थ श्रेष्ठले बताए । यसअघि यस पुरस्कारबाट सत्यमोहन जोशी, आत्मानन्द गिरी, तुलसी दिवस र दुर्गा घिमिरे पुरस्कृत भइसकेका छन् ।

प्रकाशित मिति : September 23, 2023 at 7:22 pm