२८ जेष्ठ २०८३, बिहिबार | Thu Jun 11 2026

नेपालको संविधानमा जनताको हक अधिकार समेटिएको छः मुख्यमन्त्री कार्की

४ असोज, मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले नेपालको संविधानमा जनताको हक अधिकार अत्यधिक समेटिएको बताएका छन् ।

आन्तरिक मामिला तथा कानुनमन्त्रालयद्वारा आज यहाँ आयोजित नेपाल प्रहरी कोशी प्रदेश प्रमुख एवं प्रहरी नायब महानिरीक्षक राजेशनाथ बास्तोला र सशस्त्र प्रहरी बल नेपाल नं १ बराह बाहिनी पकली सुनसरीका प्रमुख एवं सशस्त्र प्रहरी नायब महानिरीक्षक अञ्जनीकुमार पोखरेललाई रु ४७ लाख मूल्य बराबरको विभिन्न विपद् सामग्री हस्तान्तरण गर्दै उनले हाम्रो संविधानले मानव अधिकार मौलिकको सुनिश्चितता गर्नाका साथै राज्यको निर्देशित सिद्धान्तमा उल्लेखित कुरा विश्वका अन्य मुलुकको भन्दा ज्यादा रहेको प्रष्ट पारे ।

आन्तरिक मामिला तथा कानुनमन्त्रीको समेत कार्यभार सम्हालेका मुख्यमन्त्री मुलुकको आर्थिक प्रगति, राजनीतिक स्थायित्व, राष्ट्रिय एवं प्रदेशको पहिचान कायम राख्न हामी सबै लाग्नुपर्नेमा जोड दिए ।

हालका दिनमा बढदो आत्महत्या गर्नेक्रम रोकथामका लागि सुरक्षा निकायले गर्ने सचेतना कार्यक्रमलाई प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले मुलुकको सबै प्रकारको सुरक्षा व्यवस्था सुदृढ गर्न सुरक्षा निकायको भूमिका महत्वपूर्ण भूमिका रहेको बताए ।

मुख्यमन्त्री कार्कीले दुई सुरक्षा बलसँग सरकारले समन्वय गरेर जनमैत्री फोर्सका रुपमा विकास गर्ने र मुलुकको सार्वभौमिक सत्तादेखि लिएर सुदृढ सुरक्षा कायम गरी गरिमा कायम गर्ने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : September 21, 2023 at 2:47 pm