५ असार २०८३, शुक्रबार | Fri Jun 19 2026

फोहरमैला व्यवस्थापन केन्द्र निर्माणले गति लिन सकेन

३१ भदौ, गोदावरी (कैलाली) । कैलालीको धनगढी उपमहागरपालिकामा निर्माण हुने भनिएको एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र निर्माणले गति लिन सकेको छैन । यसका लागि रुख कटानको अनुमति नपाउँदा कामले गति लिन नसकेको हो । दुई वर्षभित्र निर्माण सम्पन्न हुने गरी गत वर्ष नै चिनियाँ कम्पनीसँग सम्झौता गरिएको थियो । धनगढी –७ स्थित पटेलामा क्षेत्रीय सहरी विकास आयोजनाले केन्द्र निर्माणका लागि ठेक्का सम्झौता गरेको जनाइएको छ ।

एसियाली विकास बैंक (एडिबी)को सहुलियत ऋण सहयोगमा धनगढीमा एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र निर्माणका लागि चिनियाँ कम्पनी सिचुवान प्रोभिन्स जियोलोजिकल इन्जिनियरिङसँग सम्झौता भएको क्षेत्रीय सहरी विकास आयोजना कार्यालय धनगढीका सूचना अधिकारी इन्जिनियर सौरभ कलौनीले जानकारी दिनुभयो । उहाँका अनुसार दुई वर्षभित्रै एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र निर्माणका लागि गत वर्ष पुस महिनामा रु ९६ करोड ८२ लाख ३९ हजार छ सय ४६ मा सो चिनियाँ कम्पनीसँग सम्झौता भएको हो । सो केन्द्र निर्माणस्थलमा झण्डै दुई हजार रुख काट्नुपर्ने देखिएको छ ।

fohor
fohor

रुख कटानका लागि वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) समेत स्वीकृत भइसकेको जनाइएको छ । गत फागुन १५ गते इआइए स्वीकृत भएको क्षेत्रीय सहरी विकास आयोजना कार्यालयले जनाएको छ । तर केन्द्र निर्माणको काम अलपत्र परेको छ । रूख कटान अनुमतिका लागि प्रतिवेदन वन मन्त्रालयमा बुझाइसकिएको आयोजना कार्यालयले जनाएको छ । फोहरमैला व्यवस्थान केन्द्र बनाउन २२ हेक्टरमा करिब दुई सय बिरुवा काट्नुपर्ने क्षेत्रीय सहरी विकास आयोजना कार्यालय धनगढीका सूचना अधिकारी इन्जिनियर कलौनीको भनाइ छ ।

प्रकाशित मिति : September 17, 2023 at 11:22 am