७ असार २०८३, आइतबार | Sun Jun 21 2026

व्यवस्थित पशु बधशालाप्रति महानगरको चासो

२७ भदौ, नारायणगढ (चितवन) । महानगरपालिकाभित्र व्यवस्थित पशु बधशाला निर्माणका लागि भरतपुर महानगरले चासो देखाएको छ । महानगरपालिकाभित्र रहेका पशु बधशाला व्यवस्थित नभइरहेको अवस्थामा बधशाला व्यवस्थित गर्न महानगरले तयारी थालेको हो । उपभोक्ताको गुनासो बढेसँगै महानगरले उपप्रमुख चित्रसेन अधिकारीको संयोजनमा सात सदस्यीय ‘पशु बधशाला व्यवस्थापन कार्यदल’ गठन गरेको छ । आर्थिक प्रशासन महाशाखा प्रमुखसहित पशु बधशाला रहेका वडाका वडाध्यक्षहरु सदस्य रहने गरी कार्यदल गठन गरिएको कार्यदलका संयोजक अधिकारीले जानकारी दिए ।

उनका अनुसार समितिले महानगरभित्र कति पशु बधशाला छन् र त्यसलाई कसरी व्यवस्थित गर्न सकिन्छ भन्ने विषयमा अध्ययन गर्नेछ । अध्ययनसँंगै व्यवस्थित पशु बधशाला निर्माणका लागि उचित स्थानमा जग्गाको व्यवस्थापन गर्ने उनले जानकारी दिए । बजार अनुगमन समितिको संयोजकसमेत राखेका अधिकारीले पशु बधशाला अनुगमनका क्रममा बधशाला र मासु जाँच ऐन, २०५५ र नियमावली, २०५७ अनुसार कुनै पनि बधशाला नरहेका बताए । उनले भने, “पशु अधिकार, क्वारेन्टिन र स्वास्थ्य परीक्षण नगरी पशु बध गर्ने गरेको पाइएको छ ।” महानगरको घनाबस्ती र मुख्य बजारी क्षेत्रमा धेरै मात्रामा पशुको बध गरिँदै आइएको जनाउँदै उपप्रमुख अधिकारीले अनुगमनका क्रममा बधशालाको सरसफाइ र व्यवस्थापन राम्रो नभएको पाइएको जानकारी दिए ।

“नारायणगढ बजारका पशु बध गरेर निस्किएको फोहोरलाई पुङ्गी खोलामा विसर्जन गर्ने गरिएको पाइएको छ”, उनले भने, “यसलाई रोक्नका लागि बधशाला व्यवस्थापन आवश्यक रहेकाले सो कार्यमा लागेका छौँ ।” पशु बधशालाको स्थापना र सञ्चालनका लागि बध गर्न ल्याइएका पशुहरुको स्वास्थ्य परीक्षण गर्नु अघि र स्वास्थ्य परीक्षण गरी बध गर्न योग्य पशु राख्ने छुट्टाछुट्टै स्थानको व्यवस्था, बिरामी पशु राख्ने अलग्गै स्थान, बध गरेपछि रगत निथोर्ने, छाला काढ्ने, खुइल्याउने, मासु सफा गर्ने, आन्द्रा भुँडी तह लगाउने र सफा गर्ने छुट्टै स्थानको व्यवस्था भएको हुनुपर्ने मापदण्डमा उल्लेख छ ।

मापदण्डअनुसार पशु बध गरिसकेपछि मासु परीक्षण (पोष्टमार्टम एक्जामिनेसन) गर्ने र मानिसले उपभोग गर्न अयोग्य मासु (कन्डेम्ड मिट) तह लगाउने स्थान, आवश्यक मात्रमा चिसो तथा तातो पानीको व्यवस्था, बध गर्न ल्याइएका पशुबाहेक अन्य कुनै पनि पशु प्रवेश गर्न नसक्ने गरी निर्माण गरिएको, पशु बधशालाभित्र काम गर्ने कोठाहरुमा आवश्यक मात्रमा प्रकाश र स्वच्छ हावा आउने गरी व्यवस्था मिलाइएको हुनु पर्नेछ । त्यस्तै, बधशालाका लागि पशुको स्वास्थ्य परीक्षण गर्ने स्थान, बध गरिने र मासु परीक्षण गर्ने स्थानको भुइँ सजिलैसँग सफा गर्न सकिने, पक्की, पानी नसोस्ने र ढल निकासको समुचित व्यवस्था मिलाएको, मासु सुरक्षित राख्नका लागि आवश्यक शीत भण्डारको व्यवस्थालगायत नियम पशु बधशाला तथा मासु जाँच नियमावलीमा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : September 13, 2023 at 4:03 pm