२ बैशाख २०८३, बुधबार | Wed Apr 15 2026

हाथवे इन्भेस्टमेन्टको आईपीओमा आवेदनको ओइरो, सेयर पाउन भाग्यकै भर !

२६ भदाै, काठमाडाैं । हाथवे इन्भेस्टमेन्ट नेपालको आईपीओमा आवेदनको ओइरो परेकाे छ । कम्पनीकाे आईपीओमा अन्तिम दिनसम्म करिब १३ गुणा बढी आवेदन परेकाे छ । कम्पनीले भदाै २१ गतेदेखि सर्वसाधारणका लागि निष्काशन गरेकाे आईपीओमा हिजाे भदौ २५ गतेसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको थियो।

सीडीएससीका अनुसार अन्तिम दिनसम्म कम्पनीकाे आईपीओमा १३ लाख २४ हजार ४११ आवेदकबाट कुल ३ करोड १२ लाख ५६ हजार ९२० कित्ता सेयर माग भएको छ। जुन मागभन्दा १२.८७ गुणाले बढी हो। कम्पनीकाे आईपीओमा मागभन्दा बढी आवेदन परेका कारण गोलाप्रथाबाट बाँडफाँड हुनेछ। गोलाप्रथाबाट बाँडफाँड गर्दा २० कित्ता सेयर हाता पार्न पनि भाग्यमा नै भर पर्नुपर्ने देखिन्छ ।

कम्पनीले जारी पुँजी १ अर्ब १७ करोड रुपैयाँको १२.५० प्रतिशतले हुन आउने १४ करोड ६२ लाख ५० हजार रुपैयाँबराबरको आईपीओ ल्याउन अनुमति पाएको थियो। जसअनुसार कम्पनीले ५० रुपैयाँ अंकित दरका कुल २९ लाख २५ हजार कित्ता आईपीओ बिक्री खुला गरेको थियो। कुल कित्तामध्ये २ प्रतिशतले हुन आउने ५८ हजार ५०० कित्ता कम्पनीका कर्मचारीका लागि छुट्याइएको छ भने ५ प्रतिशतले हुन आउने १ लाख ४६ हजार २५० कित्ता सेयर सामूहिक लगानी कोषलाई बाँडफाँड गरिएको छ।

यसैगरी कम्पनीले कुल कित्ताको १० प्रतिशतले हुन आउने २ लाख ९२ हजार ५०० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बाँडफाँड गरिसकेको छ । बाँकी २४ लाख २७ हजार ७५० कित्तामा सर्वसाधारणले आवेदन दिन पाउने व्यवस्था गरिएको थियो। कम्पनीकाे आईपीओ बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ।

प्रकाशित मिति : 10:20