नेपालका असल अभ्यासबारे विश्व समुदायलाई कसरी जानकारी दिन सकिन्छ भन्नेबारे सोचौँः राजदूत ओली
२४ भदौ, काठमाडौँ । थाइल्याण्डका लागि नवनियुक्त नेपाली राजदूत धनबहादुर ओलीले नेपालका असल अभ्यासबारे विश्व समुदायलाई कसरी जानकारी दिन सकिन्छ भन्नेबारे सोच्नुपर्ने बेला आएको बताएका छन । सांस्कृतिक अध्ययन तथा अनुसन्धान परिषद् नेपालले नवनियुक्त राजदूत तथा संयुक्त राष्ट्रसङ्घका स्थायी प्रतिनिधिको सम्मानमा आयोजना गरेको अन्तक्रिया, बधाई तथा शुभकामना कार्यक्रममा राजदूत ओलीले संसारले सहिष्णुता चाहेको र नेपाल सहिष्णु मुलुकका रूपमा पहिचान बनाएकाले विश्व समुदायलाई शान्ति तथा सहिष्णुताको सन्देश दिनसक्ने बताए ।
कूटनीतिको ‘सफ्ट पावर’का रूपमा भाषा, संस्कृति रहने उल्लेख गर्दै राजदूत ओलीले आधुनिक बसाइँसराइले नेपाली संस्कृतिलाई विस्तार गर्ने अवसर पनि सिर्जना गरेको बताए । नेपाली भाषा तथा संस्कृतिलाई विश्व समुदायसँग जोड्न राजदूतले संयोजन गर्न सक्ने उनले बताए ।
कार्यक्रममा वरिष्ठ संस्कृतिविद् तथा कवि तुलसी दिवसले देशको प्रतिनिधित्व गर्ने राजदूतले औपचारिकमात्र नभई अनौपचारिकरूपमा पनि सम्बन्ध अघि बढाउन सक्नुपर्ने बताए । सांस्कृतिक सचेतना र प्रवर्द्धनमा राजदूतको भूमिका महत्त्वपूर्ण हुने उनको भनाइ छ ।

नेपाली भाषा, संस्कृति, रहनसहन, वेशभूषा चिनाउनका लागि परराष्ट्र मन्त्रालयबाटै राजदूतलाई अभिमुखीकरण तथा निर्देशन हुनुपर्नेमा संस्कृतिविद् दिवसले जोड दिए । “देश भौगोलिक सीमाभित्र हुन्छ । भाषा साहित्य संसारभरि फैलिएको छ । यो जीवन्त भएर बसेको हुन्छ । विदेशमा बस्नेहरूमा आफ्नो भाषा, संस्कृतिप्रति अझ बढी माया र लगाव हुन्छ”, उनले भने, “नेपालसँगको सम्पर्क टुटेकै कारण कोही पनि आफ्नो संस्कृतिबाट एक्लिन हुँदैन । त्यसलाई जोड्नका लागि विदेशस्थित दूतावासले भूमिका खेल्नुपर्छ ।”
सांस्कृतिक अध्ययन तथा अनुसन्धान परिषद् नेपालका अध्यक्ष वरिष्ठ लोकगायक बमबहादुर कार्कीले संस्कृति प्रवर्द्धनका लागि कुन क्षेत्रबाट कसरी काम गर्न सकिन्छ भन्ने उद्देश्यले यो कार्यक्रमा आयोजना गरिएको बताए । नेपालको लोकसंस्कृतिलाई स्वदेशमा मात्र नभई विदेशसम्मै प्रवर्द्धन गर्न आवश्यक रहेको उनको भनाइ थियो ।
सो कार्यक्रममा त्रिभुवन विश्वविद्यालय नेपाली केन्द्रीय विभागका प्रमुख प्राध्यापक डा खगेन्द्र लुँइटेलले विदेशमा नेपाली भाषा र संस्कृति प्रवर्द्धनका लागि राजदूतको भूमिका महत्त्वपूर्ण रहने बताए । कार्यक्रममा त्रिभुवन विश्वविद्यालयकै प्राध्यापक डा ऋषिराम शर्मा, संयुक्त राष्ट्रसङ्घीय स्थायी नियोग जेनेभाका लागि नेपालका प्रतिनिधि तथा स्वीटजरल्याण्डका लागि नेपाली राजदूत रामप्रसाद सुवेदी, युएईका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्री कुवेतका लागि नेपाली राजदूत घनश्याम लम्सालले पनि संस्कृति प्रवर्द्धनसहितको कूटनीतिमा जोड दिएको सांस्कृतिक अध्ययन तथा अनुसन्धान परिषद् बैकुण्ठ महतले जानकारी दिए ।

प्रकाशित मिति : 13:27









