यादवमाथिको आक्रमण र बालिका मृत्यु घटनाबारे सदनलाई जानकारी गराउन सभामुखको रुलिङ
२१ भदौ, काठमाडौं । सभामुख देवराज घिमिरेले नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथिको आक्रमण र कान्ति बाल अस्पतालमा बालिकाको मृत्यु भएको सम्बन्धमा सदनलाई जानकारी गराउन रुलिङ गरेका छन् ।
प्रतिनिधिसभाको बिहीबार बसेको बैठकको आकस्मिक, शून्य र विशेष समयमा बोल्ने सांसदहरुले सो घटनाबारे गम्भीर ध्यानाकर्षण गराएपछि सभामुख घिमिरेले यादवमाथिको आक्रमण र कान्ति बाल अस्पतालमा उपचारको अभावमा ज्यान गुमाएकी ५ वर्षीया बालिकाबारे जानकारी गराउन सरकारलाई निर्देशन दिएका हुन् ।
सभामुख घिमिरेले भने, ‘आजको आकस्मिक, शुन्य र विशेष समयमा कान्ति बाल अस्पतालमा एक जना ५ वर्षीया बालिकाको मृत्यु भएको र संविधानसभा सदस्य एवं नेपाली काँग्रेसका सहमहामन्त्री श्री महेन्द्र यादवमाथि भएको आक्रमणको विषयमा गम्भीर कुराहरु छन । यी विषयमा सदनलाई जानकारी गराउन सरकारलाई म निर्देश गर्दछु ।’
प्रकाशित मिति : २१ भाद्र २०८०, बिहीबार १६:१७