१२ आश्विन २०८१, शनिबार | Sat Sep 28 2024

देशव्यापी कला प्रवर्द्धन अभियानमा प्रतिष्ठान

२० भदौ, काठमाडौँ । कला सिर्जनाको विकासका लागि नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान काठमाडौँले देशव्यापी ललितकला प्रवर्द्धन अभियान थालेको छ । विभिन्न जिल्ला तथा प्रदेशमा पुगेर ललितकला क्षेत्रको विकास तथा प्रवर्द्धनात्मक कार्यक्रम गरी कलाकारलाई प्रोत्साहन तथा कला पारखीमाझ कला सिर्जनाको महत्त्व दर्शाउँदै प्रतिष्ठानले विभिन्न कार्यक्रम अघि बढाएको हो । प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीका अनुसार कलालाई उपत्यकामा मात्रै सीमित नराखी जिल्ला जिल्लामा समेत महत्त्व दर्शाउँदै कला प्रवर्द्धन गर्न जरुरी रहेकाले प्रतिष्ठानले विशेष योजनाका साथ कला प्रवर्द्धन थालेको बताए । नेपालका कुनाकाप्चामा रहेका मौलिक कलाको संरक्षण गर्नु पनि यसको उद्देश्य रहेको जनाइएको छ ।

प्रतिष्ठानले विभिन्न प्रदेशगतरूपमा छलफल अभियान नै अघि बढाएको छ । यस्तै विभिन्न प्रदेशबाट प्रतिनिधित्व गर्दै काठमाडौँमा कला सिर्जनामा सक्रिय रहेका कलाकारसँग अन्तक्र्रिया र कला प्रवर्द्धनात्मक कार्यक्रम पनि गरिरहेको प्रतिष्ठानले जिल्ला जिल्लामा पुगेर परम्परागत तथा आधुनिक कला विकासका कार्यक्रमसमेत सञ्चालन गरिरहेको छ । केही जिल्लाका तोकिएको क्षेत्रलाई विशेष खास कलाको केन्द्र बनाउने योजनासमेत अघि बढाइएको प्रतिष्ठानका सदस्य सचिव देवेन्द्र काफ्लेले जानकारी दिए ।

उनका अनुसार पहिलो चरणमा जिल्लामा कला प्रवर्द्धन तथा विकाससम्बन्धी कार्यक्रम गरेर सुझाव लिने काम गरिरहेको र त्यसका आधारमा योजना बनाएरै कलाको विकासमा लाग्ने प्रतिष्ठानको सोच रहेको छ । हाल प्रतिष्ठानले कोशी, मधेस प्रदेश, गण्डकी, लुम्बिनी, कर्णाली प्रदेशबाट प्रतिनिधित्व गर्दै काठमाडौँमा कला सिर्जना गरिरहेका कलाकारसँग छलफल गरिसकेको छ । प्रतिष्ठानले बागमती प्रदेशको रामेछाप जिल्लाको सुनापाती गाउँपालिकालाई थाङ्का कलाको केन्द्र बनाउने योजना अघि बढाइसकेको छ । त्यसका लागि अध्ययन समिति गठन गरी काम भइरहेको प्रतिष्ठानले जानकारी दिएको छ । यस्तै दाङको गढवा गाउँपालिकालाई सेरामिक्स कलाको केन्द्र बनाउने योजना पनि अघि सारिएको छ ।

प्रकाशित मिति : २० भाद्र २०८०, बुधबार १९:३३