१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

चीन र भारतसँग राम्रो सम्बन्ध बनाइरहनु हाम्रो आवश्यकता र बाध्यता हाेः सभापति देउवा


१९ भदौ, काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कर्मचारीहरुले निष्पक्ष रुपमा काम गर्नुपर्ने बताएका छन् ।

नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवसका सन्दर्भमा आज ‘कर्मचारी’ पुस्तकको विमोचन कार्यक्रममा उनले कर्मचारीले व्यक्तिगत रुपमा विचार जुनसुकै अपनाए पनि सरकारको कुरा मान्नुपर्ने धारणा व्यक्त गरे ।

सभापति देउवाले भने, “राजनीति र कर्मचारीतन्त्रबीचको द्वन्द्व विश्वमै हुने गरेको देखिन्छ, तर सन्तुलन कायम गरेर मिलाएर लैजानुपर्छ । निजामती कर्मचारी युनियन प्रजातान्त्रिक युनियन हो । अरूले आफ्नो पार्टीले जे भन्यो त्यही गर्ने गरेका छन्, हामीले त्यस्तो गर्नुपर्छ भन्ने छैन, निष्पक्ष काम गर्नुपर्छ, त्यही रुपमा अघि बढ्नुस् ।”

राजनीति र कर्मचारीतन्त्रबीच राम्रो सम्बन्ध हुनुपर्ने उल्लेख गर्दै सभापति देउवाले कर्मचारीतन्त्र नभई देश नचल्ने बताए । उनले कर्मचारीले सरकारको भनेको मान्नुपर्ने र कतिपय चित्त नबुझेका विषय भन्नुपर्ने बताए । राजनीति र कर्मचारीतन्त्रबीच आपसी समन्वय र सहयोग हुनुपर्ने सभापति देउवाको भनाइ थियो ।

फरक प्रसङ्गमा सभापति देउवाले नेपालमा जलविद्युत् उत्पादनको सम्भावना धेरै भएको उल्लेख गर्दै जलविद्युत् खरिदकर्ता छिमेकी मुलुक भारत भएकाले उसको कुरा सुन्नुपर्ने बाध्यता छ भने । उनले भने, “साथी बदल्न सकिन्छ, तर छिमेकी बदल्न सकिँदैन । तसर्थ चीन र भारत दुवै छिमेकीसँग राम्रो सम्बन्ध बनाइरहनु आवश्यक छ । सन्तुलन मिलाएर अघि बढ्नुपर्ने हुन्छ । यो हाम्रो आवश्यकता र बाध्यता हो, यसमा हाम्रो बुद्धिमता पनि छ ।”

प्रकाशित मिति : १९ भाद्र २०८०, मंगलवार १६:०७