२९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026

सिटिजन लाइफ इन्स्योरेन्सको आईपीओ सर्वसाधारणलाई खुल्यो, प्रतिकित्ता कति तिर्नुपर्छ ?

१५ भदाै, काठमाडाैं । सिटिजन लाइफ इन्स्योरेन्सले सर्वसाधारणलाई आज भदौ १५ गतेदेखि प्रिमियममा आईपीओ निष्काशन गरेकाे छ। कम्पनीले सर्वसाधारणलाई प्रति सेयर १०० रुपैयाँ अंकित मूल्यमा १४४ रुपैयाँ प्रिमियम थप गर्दै प्रतिकित्ता कुल २४४ रुपैयाँमा सेयर निष्काशन गरेको हो।

इन्स्योरेन्सको जारी पूँजी ३ अर्ब ७५ करोड रुपैयाँको ३० प्रतिशतका दरले हुन आउने १ अर्ब १२ करोड ५० लाख रुपैयाँ बराबरको १ करोड १२ लाख ५० हजार कित्ता सेयर निष्काशन गर्ने अनुमति पाएको थियो।

सोमध्ये ५ प्रतिशतले हुन आउने ५ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको ५ लाख ६२ हजार ५०० कित्ता प्रतिशेयर १०० रुपैयाँमा इन्स्योरेन्सका कर्मचारीहरुका लागि निष्काशन गरिसकेको छ।

त्यस्तै, बाँकी १ अर्ब ६ करोड ८७ लाख ५० हजार रुपैयाँ बराबरको १ करोड ६ लाख ८७ हजार ५०० कित्ता शेयरको १० प्रतिशत अर्थात ११ लाख २५ हजार कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि र ५ लाख ६२ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषहरुका लागि निष्काशन गरि बाँडफाँड गरिसकेको छ। बाँकी रहेको ९० लाख कित्ता सेयर सर्वसाधारण लगानीकर्तालेका लागि निष्काशन गर्न लागेको हो।

आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा १५ लाख कित्तासम्मका लागि छिटोमा भदौ १९ गते र ढिलोमा भदौ २९ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीकाे आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल लिमिटेड रहेको छ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट उपलब्ध गराएको ‘मेरो सेयर’ सफ्टवेयरबाट आवेदन दिन सक्नेछन्।

रेटिङ्गमा इक्रा नेपालले इन्स्योरेन्सलाई इक्राएनपी इस्यूअर रेटिङ्ग त्रिपल बी प्रदान गरेको छ। यसले इन्स्योरेन्सको वित्तयि दायित्व समयमा नै पुरा गर्ने सम्बन्धमा मध्यम रुपमा सुरक्षित रहेको संकेत गर्दछ।

प्रकाशित मिति : September 1, 2023 at 9:05 am