८ असार २०८३, सोमबार | Mon Jun 22 2026

सार्वजनिक बिदामा आउँदैनन् सेवाग्राही

१४ भदौ, काठमाडौँ । जनैपूर्णिमा तथा रक्षाबन्धनको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ । विभिन्न सार्वजनिक बिदामा पनि तीन प्रकारका सेवा प्रवाह सञ्चार गर्ने निर्णय गरे पनि बिहीबार काठमाडौँ जिल्ला प्रशासन कार्यालयमा सुनसान जस्तै देखिएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले गत वैशाख छ गते सूचना प्रकाशित गरी विभिन्न १८ प्रकारका सार्वजनिक बिदामा नागरिकता, राहदानी र राष्ट्रिय परिचयपत्रसम्बन्धी जस्ता सेवा सञ्चालन गरे निर्णय गरेको थियो । सोही अनुसार आज नियमित सेवा सञ्चालन भए पनि सेवाग्राहीको सङ्ख्या अत्यन्तै न्यून मात्रै रहेको कार्यालयको भनाइ छ ।

दैनिक करिब औसत दुई सय सेवाग्राही राहदानीसम्बन्धी सेवा लिनका लागि आउने गरेकोमा कार्यालयमा आज ७३ जनाको पालो भए पनि २८ जना मात्र लिन आएको सहायक प्रमुख जिल्ला अधिकारी खड्गबहादुर श्रेष्ठले जानकारी दिए । त्यस्तै, दैनिक एक सय २० देखि दुईसयसम्म राष्ट्रिय परिचयपत्र लिन आउने गरेकोमा आज जम्मा पाँच जनामात्र आएको उहाँको भनाइ छ । श्रेष्ठले सेवा प्रवाहका लागि समयमै कार्यालय खुलेको भए पनि सेवाग्राहीहरु सेवा लिन सोचेअनुरुप नआउने गरेको बताए ।

“सरकारको निर्णयअनुसार समयमै कार्यालय खोलेर सबै कर्मचारीहरु सेवामा हाजिर छौँ”, उहाँले भन्नुभयो, “तर, सेवा लिन आउँदैनन्, जानकारी नभएर पनि हुनसक्छ ।” गृह मन्त्रालयले २०७९ चैत २ गतेदेखि राजपत्रमा प्रकाशित गरी जिल्ला प्रकाशन कार्यालय काठमाडौँले १८ प्रकारका सार्वजनिक बिदामा पनि सेवा प्रवाह गर्ने निर्णय गरेको थियो । उक्त निर्णयअनुसार उक्त कार्यालयले चाडपर्व तथा दिवसमा नियमित सेवा प्रवाह गर्नुपर्नेछ । कार्यालयका अनुसार उभौली पर्व–चण्डीपूर्णिमा, बुद्ध जयन्ती, गणतन्त्र दिवस, गाईजात्रा, रक्षाबन्धन, श्रीकृष्ण जम्माष्टमी, इन्द्रजात्रा, घटस्थापना, क्रिशमस डे, किराँत समुदायको उद्यौली पर्व, योमरी पुन्हि–ज्यापू दिवस, तमुल्होसार, बुद्ध जयन्ती, माघी पर्व, जनयुद्ध दिवस, प्रजातन्त्र दिवस, महाशिवरात्री, अन्तर्राष्ट्रिय महिला दिवस, घोडेजात्रा, इद उल फित्र, बकर ईद र मच्छेन्द्रनाथको भोटो देखाउने जात्रा जस्ता सार्वजनिक बिदामा सेवा प्रवाह गर्ने निर्णय भएको छ ।

प्रकाशित मिति : August 31, 2023 at 4:49 pm