२३ आश्विन २०८३, शुक्रबार | Sat Oct 10 2026

प्रत्यारोपण केन्द्रलाई राज्यको सहयोग अपुग भएको रहेछ : स्वास्थ्यमन्त्री बस्नेत

११ भदौ, भक्तपुर । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रलाई राज्यको सहयोग अपुग रहेको बताउनुभएको छ । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको आज आकस्मिक अनुगमन गर्दै उहाँले मिर्गौला प्रत्यारोपण, डायलासिस, कलेजो प्रत्यारोपणलगायतका प्रभावकारी काम गर्दै आएको यस केन्द्रलाई राज्यको थप सहयोगको आवश्यकता देखिएको बताउनुभयो । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका भवन अत्यन्तै साँघुरो रहेकाले नयाँ भवन बनाउन अत्यावश्यक देखिएको उहाँले बताउनुभयो ।

अस्पतालको अवस्था हेर्दा बिरामीको चाप अत्यधिक रहेको, भवन निकै साँघुरो रहेको, कतिपय टहरामा बनाएको कोठामा पानी चुहिएको पाइएकाले जतिसक्दो छिटो नयाँ भवनको आवश्यकता देखिएको बताउनुभयो । यस अस्पतालकोबारेमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि यहाँको सेवा विस्तारको आवश्यकताका बारेमा चासो लिएको बताउनुभयो ।

“यहाँको बारेमा प्रधानमन्त्रीले पनि चासो लिनुभएको छ, यहाँको भवनको अवस्था हेर्दा सङ्कटाग्रस्त लाग्यो, टहराको कोठामा पानी चुहिएको देखियो, सयौँ बिरामी पालो कुरेर बसेको पाइयो”, स्वास्थ्य मन्त्री बस्नेतले भन्नुभयो, “यो अस्पतालको भवन निर्माणका लागि जग्गा खोज्न भनेका छौँ, जग्गा प्राप्त हुने बित्तिकै सरकारले भवन निर्माण प्रक्रिया थाल्छ, बजेट अपुग भए विदेशी दातालाई आह्वान गर्न सक्छौँ ।” यहाँको अवस्था हेर्दा सरकार र स्वास्थ्य मन्त्रालय गम्भीर बनेका बताउँदै उहाँले छिट्टै भवन बनाएर बिरामीले धेरै पालो कुरेर दुःख पाउनु नपरोस् भनेर मन्त्रालय लाग्ने बताउनुभयो । केन्द्रले साँघुरो भवनमा दिएको प्रभावकारी सेवा देखेर आफू प्रभावित भएको र बिरामीको गुनासो नआउने गरी प्रभावकारी सेवा प्रदान गर्न उहाँले निर्देशन दिनुभयो ।

स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउन माग गर्ने अहिले ‘फेसन’ नै भएको भन्दै मन्त्री बस्नेतले कतिपय ठाउँमा आवश्यकता रहेको हुनसक्ने तर पहिलो प्राथमिकता बिरामीलाई तत्काल गुणस्तरीय सेवा कसरी दिने भन्नेबारेमा राज्य लाग्ने बताउनुभयो । मन्त्री बस्नेतले अनुगमनको क्रममा केन्द्रले सेवा प्रवाह गर्दै आएको आकस्मिक सेवा, ओपिडी, ल्याब, डायलासिस सेवा, अपरेसन वार्ड, क्याथल्याब, पोष्ट अपरेटिभ वार्डलगायतका वार्डको अनुगमन गर्दै बिरामीसँग सेवाका बारेमा जानकारी लिनुभएको थियो । केन्द्रमा डायलासिस गराइरहेका बिरामी, भर्ना भएका र अङ्ग प्रत्यारोपण गरेर उपचाररत रहेका बिरामीले उहाँलाई यहाँको सेवाभन्दा पनि राज्यले दिनुपर्ने सेवालाई व्यवस्थित गर्न माग गरेका थिए ।

डायलासिस गराइरहेका एक बिरामीले तामाकोशी गाउँ पालिकाका अध्यक्षले बजेट छैन भन्दै सरकारले उपलब्ध गराउँदै आएको मासिक रु पाँच हजार उपचार खर्च नदिएको, बिरामीले डायलासिस गर्न धेरै कुर्नुपरेको, डायलासिस गर्न आउँदा बस्ने ठाउँ नहुँदा चिसो भुइँमा बस्नुपरेको, सरकारले ताकेको औषधिको मूल्यभन्दा बिमाबाट प्राप्त हुने एउटै औषधिमै रु छ सय बढी लिने गरेको गुनासो गर्नुभयो । उनीहरुले देशभरका सबै पालिकाबाट मासिक रु पाँच हजार अनिवार्य उपलब्ध गराउनुपर्ने व्यवस्था गर्न, बिमाबाट प्राप्त हुने औषधिको मूल्य घटाउन माग गरेका थिए । केही बिरामीले बीमाको ‘रिफर कार्ड’ बनाउँदै हिँड्नुपर्ने समस्या रहेकाले बिमाको एउटै कार्डले सबै अस्पतालमा उपचार पाउने व्यवस्था गरिदिन मन्त्री बस्नेतसँग माग गरेका थिए । मन्त्री बस्नेतले बिरामीबाट आएको समस्या समाधानका लागि आफू लाग्ने बताउनुभयो ।

अनुगमनपछि केन्द्रका कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठले अस्पताल सुरु भएको १० वर्षको अन्तरालमा एक हजार एक सय छ जनाको निःशुल्क मिर्गौला प्रत्यारोपण गरिएको र त्यसमा ९९ प्रतिशत प्रत्यारोपण सफल भएको मन्त्री बस्नेतलाई जानकारी गराउनुभयो । उहाँले केन्द्रमा वार्षिक दुई सय जनाको मिर्गौला प्रत्यारोपण हुँदै आएको बताउनुभयो । नेपालको कानुनअनुसार गैरनातेदारमा मिर्गौला साटासाटबाट ४५ जोडीको ९० जनामा मिर्गौला प्रत्यारोपण गरेको बताउँदै अहिलेसम्म १३ जनाको कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गरेको बताउनुभयो । एक वर्षमा ३० हजार बिरामीले ओपिडीसहित यहाँबाट प्राप्त सेवा लिने गरेको बताउँदै केन्द्रका कार्यकारी निर्देशक डा श्रेष्ठले यस केन्द्रमा वार्षिक दुई हजार बिरामीले भर्ना भएर सेवा लिएको र यो सङ्ख्या प्रत्येक वर्ष बढ्दै गएको बताउनुभयो ।

केन्द्रमा क्याथ ल्याब सेवाबाट चार सय जनाले सेवा लिएको बताउँदै उहाँले ठाउँ अभावका कारण ओपन हार्ड सर्जरी रोकिएको जानकारी गराउनुभयो । दुर्घटनाबाट हुने मस्तिष्क मृत्यु भएका व्यक्तिबाट लिइने अङ्गदान नेपालमा प्रभावकारी हुन नसकेको भन्दै डा श्रेष्ठले भन्नुभयो, “नेपालमा वर्षमा एक हजार जनाको दुर्घटनाका कारण मस्तिष्कघात भई मृत्यु हुन्छ, तर उनीहरुबाट अङ्गदान गराउन सकेका छैनौँ, मस्तिष्कघात भएका एक बिरामीबाट आठ वटा अङ्ग प्राप्त गर्न सकिन्छ, यसले एक जनाबाट आठ जनाको ज्यान बचाउन सकिन्छ, तर यसलाई प्रभावकारी बनाउन सकेका छैनौँ ।”

विदेशमा ८० प्रतिशत अङ्ग मस्तिष्कघात भएका बिरामीबाट लिइने गरेको तर नेपालमा अहिलेसम्म मस्तिष्कघात भएका पाँच जनाबाट १० जनालाई मिर्गौला र तीन जनालाई कलेजो दान गर्न सकिए पनि हजारौँ अङ्ग खेर गइरहेको उहाँको भनाइ थियो । मिर्गौला प्रत्यारोपणको लागि एक हजार बिरामी, कलोजो प्रत्यारोपणका लागि ५० जना बिरामी प्रतिक्षारत रहेको भन्दै अब मुटु र फोक्सोको पनि नेपालमै पहिलो पटक केन्द्रबाटै प्रत्यारोपण सेवा सुरु गर्नुपर्ने बताउनुभयो ।

बिरामीको चाप बढ्दै गएकाले केन्द्रले नेपाल सरकारको समन्वयमा सात वटै प्रदेशमा प्रत्यारोपण सेवा विस्तार गर्ने कार्य सुरु गरेको जानकारी दिँदै कार्यकारी निर्देशक डा श्रेष्ठले भन्नुभयो, “अहिले वर्षमा दुई सय मिर्गौला प्रत्यारोपण गर्दा विदेशिने एक अर्ब रुपैयाँ बचाउन सकेका छौँ, अझै पाँच अर्ब रकम यही उपचारका लागि बाहिरिने गरेको छ, सेवा बिस्तार गर्न सके यो रकम विदेशिनबाट रोकिन्थ्यो, नेपालमै बिरामीले सहज उपचार पाउथे ।”

प्रत्यारोपण र डायलाइसिसको लागि प्रतिक्षा सूचीमा रहेका बिरामीलाई तत्काल सेवा दिन भवनको व्यवस्था भए सय श्ययामा विस्तार गर्दै निकट भविष्यमा दैनिक तीन सय जनाको डायलाइसिस गर्ने योजना अगाडि बढाएको बताउनुभयो । केन्द्रले सातवटै प्रदेशमा सेवा विस्तार गर्ने क्रममा पाँच सय जनाभन्दा बढी नर्स र ५० जनाभन्दा बढी डाक्टरलाई तालिम दिएर दक्ष बनाएको बताउँदै कार्यकारी निर्देकक डा श्रेष्ठले मन्त्री बस्नेतसँग केन्द्रलाई ‘नेशनल ट्रान्सप्लान्ट एकेडेमी अफ हेल्थ साइन्स’ को नाममा प्रतिष्ठान बनाउन माग गर्नुभयो ।

प्रकाशित मिति : August 28, 2023 at 7:10 pm

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/