२४ आश्विन २०८३, शनिबार | Sat Oct 10 2026

माथिल्लो मैलुङ खोलाकाे आईपीओमा आवेदन दिने म्याद पुनः थप, अब कहिलेसम्म भर्न पाइन्छ ?

१ भदाै, काठमाडाैं । माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडको आईपीओमा आवेदन दिने म्याद पुनः थप  भएकाे छ । कम्पनीले साउन ४ गतेदेखि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको आईपीओमा अब भदौ १७ गतेसम्म आवेदन दिन सकिने भएको छ।

कम्पनीले यसअघि आवेदन दिने म्याद थप गरी भदौ १ गते निष्काशन बन्द गर्ने व्यवस्था गरेको थियो। तर, निष्काशन अवधिमा आयोजना प्रभावित क्षेत्रहरुमा अविरल वर्षाका कारण बाढी पहिरो, भौगोलिक जटिलता, मौसमी प्रतिकुलता तथा प्राकृतिक प्रकोपजस्ता कारणले गर्दा यातायात सञ्चालन अवरुद्ध भई तोकिएको संकलन केन्द्रमा दरखास्त फारम बुझाउन सहज नहुने विशेष परिस्थिति सृजना भएकोले आवेदन दिने मिति थप गरिएको कम्पनीले जनाएको छ।

कम्पनीले जारी पूँजी १ अर्ब रुपैयाँको १० प्रतिशत अर्थात १० करोड रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ दरका १० लाख आईपीओ आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको हो। सोमध्ये ५ लाख ७१ हजार ४३० कित्ता सेयर आयोजना अति प्रभावित क्षेत्र रसुवा जिल्लाको उत्तरगया गाउँपालिका वडा नं ९ का बासिन्दाहरुलाई बाँडफाँड गरिनेछ भने २ लाख ८५ हजार ७२० कित्ता शेयर आयोजना प्रभावित क्षेत्र रसुवा जिल्लाको उत्तरगया गाउँपालिका वडा नं. २, ३, ४ र ५, तथा नुवाकोट जिल्लाको किस्पाङ गाउँपालिका वडा नं. ५ मा बसोबास गर्ने स्थानिय बासिन्दाहरुका लागि र सो क्षेत्र बाहेकका रसुवा जिल्लाका अन्य क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि १ लाख ४२ हजार ८५० कित्ता शेयर बाँडफाँड गरिनेछ।

उक्त आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । कम्पनीकाे आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ। स्थानिय बासिन्दाले आयोजना स्थल, सानिमा क्यापिटल, सानिमा बैंक तथा एनएमबि बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले शेयर खरिद आवेदन प्राप्त गर्नका लागि दरखास्त फारमबापत २ रुपैयाँ शुल्क बुझाउनु पर्नेछ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले निर्माण गरेको सफ्टवेयर ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।

आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयरएनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ।

प्रकाशित मिति : August 18, 2023 at 9:48 am

https://www.nabilbank.com/individual
https://www.nimb.com.np/