३ जेष्ठ २०८१, बिहीबार | Thu May 16 2024

केपी ओलीलाई सुबोध प्याकुरेलको पत्र


कमरेड केपी,

हरेक विषय माथिबाट निर्देश गर्नुपर्ने हुँदैन।असल संस्कारको सुरुवात आफू संलग्न हुने कार्यक्रममा वरिष्ठहरुले गरिदिए बाँकीले सखुशी अनुसरण गर्छन। तपाईं आफैले महाराजहरुको स्वस्तिवाचन प्रथालाई गर्नुभएको व्यङ्ग्य र जात अनुसार पहिरन गर्नुपर्ने टोपीको शैलीको विरोध कसरी गर्नु भएको थियोे भन्नेकुरा साक्षी छ।

हरेक कार्यक्रममा सहभागीलाई बताउनु पर्ने कि तपाईं सम्माननीय पूर्व प्रधानमन्त्री हुनुहुन्थ्यो।व्यक्ति पिच्छेले स्मरण गराइदिनु पर्ने कि तपाईं श्रद्धेय अध्यक्ष, राजनेता बा अनि अरु के के हो हुनुहुन्छ? पार्टकार्यक्रममा कमरेड भन्दा माथिका दर्जा र व्यवहारमा कमरेडीपन भन्दा माथि अनेक फुँदा जोडिँदा कसरी दङ्ग पर्न सकिन्छ ?

अचेल सहभागिताको प्रमाणपत्र देखि पार्टी कार्यालयले ढोका कोठा सर्वत्र तपाईंको चित्र नराखी नहुने गरि उधुम मच्चाइएको छ।प्रदेश सम्मेलनको मुखैमा प्रदेश प्रमुख तपाईसँग कुम जोडेको फोटो हाल्छन र लेख्छन, श्रद्धेय अध्यक्षबाट निर्देशन लिएँ।दुनियाँले अर्थ लगाउँछ, नेतृत्व छनौटमा आदेश मिल्यो, तदनुसार नेता छानिने छन्।

एमाले बीचार र व्यवहारले पाको पार्टी हो।वैचारिक काम कमजोर भएपछि व्यक्ति,व्यक्तिको वैयक्तिक श्रृङ्गार सुरु हुन्छ।पार्टीको लोकतान्त्रिकरणको लागि तपाईंको कर्म मिहेनत र त्यसमा गाँसिए बापत प्रताडित गरिएकाहरुलाई सम्झिनुस र निर्णय गर्नुस।अति भक्ति चौरस्य लक्षणम।तपाईंको तेजोवध गर्ने हरिया झिङाहरु धेरै भए। तिनले जान्ने कुरा ग्लेमर हो।

किसानले गर्ने सार्वजनिक कार्यक्रममा क० तुलसीलाल,महिलाले गर्ने कार्यक्रममा क० साहना र स्थानीय कार्यक्रममा सान्दर्भिक शहीदको चित्र कसरी आउट गर्नु हुन्छ? विवेकपूर्ण काम व्यवहारबाट स्थापित गर्दै लैजानुपर्छ र समय,विषय सान्दर्भिक हुन्छ।चुनावमा गरिने सार्वजनिक कार्यक्रममा तपाईं चित्र नभए पनि हुन्छ तर उम्मेदवारको चित्र अनिवार्य हुन्छ।

अन्त्यमा, हरेक कार्यक्रममा राष्ट्रगान र मौन धारण अनिवार्य हुँदैन।त्यो तपाईलाई बढी थाहा छ।सिनेमाहलमा राष्ट्रगान, रोदीघरमा राष्ट्रगान घन्काउन लगाउने पञ्चायतकालीन भाटगिरी तपाईलाई थाहा छ। कृपया आलोचना र विरोध बीचको फरक, नेता र नेतृत्व बीचको फरक अनि पार्टी र पदाधिकारी बीचको फरकका बारेमा तपाईंका निकट, अति निकट, विशिष्ट निकटका महानुभावहरुलाई दीक्षित गरिदिनुस।एमाले एमालेका दर्जावालहरुको मात्र होइन सिङ्गो नेपाल नेपाली र कतिपय सन्दर्भमा विश्वका न्याय समानता र समन्यायका पक्षपातीहरुको पनि पार्टी हो। (प्याकुरेलले सामाजिक सञ्जाल फेसबुकमा व्यक्त गरेको विचार यहाँ साभार गरिएको हो -प्रधानसम्पादक)

प्रकाशित मिति : १ भाद्र २०८०, शुक्रबार १०:१४