सचिवसँग निहुँ खोज्दा मोदीको मन्त्री चैट
२८ साउन, काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव कृष्णहरि पुष्करसँग निहुँ खोज्दा मन्त्री अमनलाल मोदीको पद नै गएको छ । केही समय मन्त्री र सचिवको बोलचाल समेत बन्द भएको थियो । मन्त्री मोदीले सचिव पुष्करको हाजिरीमा रातो लगाएपछि दुई जनाको बीचमा चर्को विवाद भएको थियो ।
केही नयाँ गर्ने अभियानमा लागेका मोदी आइतबार सरकारबाट फिर्ता बोलाइएका छन । माओवादी केन्द्रको पदाधिकारी बैठकले मोदीलाई सरकारबाट फिर्ता बोलाउने निर्णय गरेको सचिव देवेन्द्र पौडेलले दैनिकीलाई जानकारी दिए । कार्यसम्पादन कमजोर भएको आधारमा उर्जामन्त्री शक्ति बस्नेतलाई र बढी विवादित भएकोमा पर्यटनमन्त्री सुदन किराँतीलाई फिर्ता बोलाउने विषयमा पनि माओवादीमा चर्चा भएको थियो तर आइतबार माओवादीको पदाधिकारी बैठकले सचिवको हाजिरमा रातो लगाउने मन्त्री मोदीलाई नै फिर्ता बोलाउने निर्णय गरेको हो ।
सत्ता गठबन्धनको बीचमा सामान्य प्रशासन मन्त्रीमा सहरी विकास मन्त्री सीता गुरूको सरूवा गरेर सहरी विकासमा जनमत पार्टीकी अनिताकुमारी साहलाई मन्त्री बनाउने सहमति भएको बुझिएको छ । यद्यपी यसको निर्णय हुन बाँकी रहेको छ ।
प्रकाशित मिति : August 13, 2023 at 6:10 pm









