३० चैत्र २०८२, सोमबार | Mon Apr 13 2026

अरुण काबेलीले हकप्रद निष्कासन गर्ने मिति सच्चायो, अब कहिलेबाट भर्न पाइन्छ ?

२६ साउन, काठमाडाैं । अरुण काबेली पावरले हकप्रद सेयर निष्कासन गर्ने मिति सच्चाएको छ। कम्पनीले आज एक सूचना प्रकाशित गर्दै अब भदौ ११ गतेदेखि ३१ गतेसम्म हकप्रद सेयर बिक्री गरिने जनाएकाे छ ।  यसअघि कम्पनीले भदौ ८ गतेदेखि भदौ २८ गतेसम्म हकप्रद सेयर निष्काशन गर्ने जनाएको थियो । तर, आज कम्पनीले यसअघि प्रकाशित सूचनामा गल्ती भएकाले भूल सुधार गरिएको भन्दै हकप्रद सेयर निष्काशन गर्ने मिति सच्चाएको जनाएको छ ।

कम्पनीले १ः१ अनुपातमा १ करोड ८५ लाख ५२ हजार १०५ कित्ता हकप्रद सेयर जारी गर्न लागेको हो । जसअनुसार यस कम्पनीले १ सय अंकित मूल्यमा १ अर्ब ८५ करोड ५२ लाख १० हजार ५ सय रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्नेछ । कम्पनीले हकप्रद सेयर निष्कासन प्रयोजनार्थ गत असार २५ गते बुक क्लोज गरिसकेको छ। यसको अर्थ असार २४ गतेसम्म कायम सेयरधनीले यो हकप्रदमा आवेदन दिन पाउनेछन्। कम्पनीकाे हकप्रद सेयर बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ रहेको छ।

सेयरधनीहरुले यो हकप्रदमा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो सेयरबाट खरिद आवेदन दिन सक्नेछन्। हकप्रदमा नबिल इन्भेस्टमेन्ट बैंकिङ र अरुण काबेलीको कार्यालयबाट आवेदन दिन सकिनेछ।

हाल यस कम्पनीको चुक्ता पुँजी १ अर्ब ८५ करोड ५२ लाख १० हजार ५ सय रुपैयाँ रहेको छ । हकप्रद जारी गरेपछि यसको चुक्ता पुँजी ३ अर्ब ७१ करोड ४ लाख २१ हजार रुपैयाँ पुग्नेछ ।

प्रकाशित मिति : 10:41