३० चैत्र २०८२, सोमबार | Mon Apr 13 2026

छुटाउनु भयाे की ? सर्वसाधारणले रिलायबल नेपाल लाइफको आईपीओ भर्ने आज अन्तिम दिन

२६ साउन, काठमाडाैं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको आईपीओमा आवेदन दिने आज साउन २६ गते शुक्रबार अन्तिम दिन रहेको छ। कम्पनीले गत साउन २३ गतेबाट सर्वसाधारणका लागि निष्काशन गरेकाे आईपीओमा आज बैंकिङ समयसम्म मात्रै आवेदन दिन सकिनेछ ।

कम्पनीले जारी पुँजी ४ अर्ब रुपैयाँको ३० प्रतिशतका दरले हुन आउने १ अर्ब २० करोड रुपैयाँ बराबरको १ करोड २० लाख कित्ता सेयर निष्काशन गरेको हो। जसमध्ये १० प्रतिशत अर्थात १२ लाख कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्काशन गरि बाँडफाँड गरिसकेको छ।

५ प्रतिशत अर्थात ६ लाख कित्ता सेयर सामूहिक लगानी कोष र ५ प्रतिशत अर्थात ६ लाख कित्ता सेयर कम्पनीका कर्मचारीहरुका छुट्याइएको छ। बाँकी ९६ लाख कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन पाउने छन्।

कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा १५७ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २५७ रुपैयाँमा आईपीओ बिक्री खुला गर्नेछ। कम्पनीकाे आईपीओमा सर्वसाधारणले न्यूनतम १० कित्तादेखि अधिकतममा ५ हजार ४०० कित्तासम्म  खरिद आवेदन दिन पाउनेछन्। कम्पनीकाे आईपीओ बिक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट आस्वा सदस्यता प्राप्त बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखाहरुबाट आवेदन दिन सक्नेछन्।

सीडीएससीका अुनसार यो आईपीओमा बिहीबार साँझसम्म १० लाख ८२ हजार ३७९ आवेदकबाट १ करोड ३० लाख ५९ हजार ४६० कित्ता सेयर माग भएको छ। जुन मागभन्दा १.३६ गुणाले बढी हो।

प्रकाशित मिति : 09:58