६ आश्विन २०८१, आईतवार | Sun Sep 22 2024

भारतीय पक्षले नेपालको भूमि अनधिकृत रूपमा नापजाँच गरेः सांसद अर्याल

३ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डोलप्रसाद अर्याल भारतीय पक्षले नेपालको भूमि अनधिकृत रूपमा नापजाँच गराएको बताएका छन्।

आईतवार प्रतिनिधिसभाको बैठकमा सांसद अर्यालले असार १ गते इण्डियन नेशनलको हाइवेको सर्भे गर्ने भन्दै कञ्चनपुरको भूजेला गड्डा चौकी हुँदै सुकासालसम्मको भूभाग नापेको जनकारी दिएका हुन् ।

उनले भने‘भारतीय पक्षले नेपालको भूमि अनाधिकृत रुपमा नापजाँच गरेको कुरा सदनलाई जानकारी गराउन चाहन्छु असार १ गतेभारतीय प्राविधिकहरूको टोलीले इण्डियन नेशनलको हाइवेको सर्भे गर्ने भन्दै कञ्चनपुरको भूजेला गड्डा चौकी हुँदै सुक्कासालसम्मको भूभाग नाप गरे । ’
उक्त विषयमा सीमानामा सुरक्षार्थ खटिएका सुरक्षाकर्मीले सुइँको समेत नपाएको भन्दै उनीहरूलाई जागिर खान मात्रै सीमामा खटाइएको हो? भनेर सरकारसँग प्रश्न गरे ।

उनले भने, ‘भारतीय प्राविधिकहरू नेपाल प्रवेश गर्दा पनि सीमानामा सुरक्षार्थ खटिएका सुरक्षाकर्मीले सुइँको समेत पाएनन्। के उनीहरूलाई जागिर खान मात्रै सीमामा खटाइएको हो। म सरकारलाई प्रश्न गर्न चाहन्छु।’

उनले अरु सुरक्षाकर्मीले सुइँको नपाउँदा स्थानीयहरूले गलत काम भएको भन्दै प्रहरीलाई जानकारी गराएको बताए। नेपाली पक्षलाई जानकारी नै नगराई एकतर्फी रूपमा भूमि नापजाँच गर्ने कुरा सामान्य नभएको भन्दै सो घटनाको सत्य तथ्य छानबिन गराउन गृहमन्त्रीसँग उनले माग गरे।

प्रकाशित मिति : ३ असार २०८०, आईतवार १४:१८