यस्तो पो दशैँ, अाफ्नो खर्च कटाएर दृष्टिविहीन गन्धर्व परिवारलाई सहयोग
२ कात्तिक, दाङ । दशैँको समयमा हुने फजुल खर्चहरू कम गर्दै उद्योग व्यवसायीको एउटा समूहले दृष्टिबिहीन परिवारका लागि अार्थिक सहयोग प्रदान गरेको छ । दाङको तुलसीपुरमा गएकाे ८ वर्षदेखि अरुको शरणमा बसिरहेका रुकुमका एक दृष्टिविहीन परिवारलाई उद्याेगी व्यवसायीहरुले खाद्यान्न तथा नगद सहयोग गरेका छन् ।
रुकुम सानोभेरि गाउँपालिका ३ की रुपा गन्धर्वका परिवारलाई तुलसीपुरका उद्याेगी व्यवसायीहरुले दसैं खर्च कटाएर घरमै पुगी बीस हजार रुपैयाँ बराबरको सामग्री हस्तान्तरण गरेका हुन् । गन्धर्व परिवारलाई चामल, चिउरा, तेल, नुन, पिठो र मासु सहितका सामग्री सहयोग गरिएको छ ।

रुपाका श्रीमानले अर्की श्रीमती ल्याएर उनलाई ४ जना दृष्टिविहीन छोराछाेरीसहित घरबाट निकालिदिएपछि उनी तीन छोरी र एक छोरा सहित तुलसीपुर-४, रक्षाचौरमा भाडाकाे काेठामा कष्टकर जीवन बिताउँदै आएकी छिन् ।
लायन्स क्लब दाङ, भाग्यलक्ष्मी क्रसर, गौतम पोल्ट्री फर्म लगायतको सहकार्यमा सहयोग प्रदान गरिएको रिपोर्टर्स क्लब दाङका अध्यक्ष शरद रेग्मीले जानकारी दिनुभयोे ।
प्रकाशित मिति : २ कार्तिक २०७५, शुक्रबार १६:२३












