१ पुष २०८२, मंगलवार | Tue Dec 16 2025

अाज विजया दशमी, ९ बजेर ५१ मिनेटमा टीकाको उत्तम साइत

२ कात्तिक, काठमाडाैँ । अाज विजया दशमी अर्थात दशैँको मुख्य दिन । आश्विन शुक्ल दशमी अर्थात् नेपालीहरुको महान् चाड विजयादशमी देशभर हर्षोल्लासपूर्वक मनाइँदैछ । मान्यजनबाट टीका, जमरा र आशिर्वाद ग्रहण गरी देशभर हर्षोल्लासका साथ अाज विजयादशमी मनाइँदैछ । यसवर्ष टीकाकाे उत्तम साइत बिहान ९ बजेर ५१ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गाैतमले दैनिकीलार्इ जानकारी दिए ।

अाज दशैँको प्रसाद ग्रहण गर्न नभ्याउने मानिसहरूले कोजागत पूर्णिमाको दिनसम्म अाफन्तको घरमा गएर मान्यजनको हातबाट टीका, प्रसाद र दक्षिणा ग्रहण गर्ने प्रचलन रहेको छ ।

प्रा डा गाैतमले विजयादशमीका दिन बिहान ९ बजेर ३९ मिनेटमा देवी विसर्जनको साइत रहेको बताए । अाजै बिहान ८.३५ मा तुलजा भवानीको यात्रा गराइन्छ । भवानीलाई बिहान ९ बजेर ४४ मिनेटमा स्थिर आसनमा राखिन्छ । कात्तिक ६ गते मङ्गलबार सबै बलि पूर्ति गरी जमरा सेलाइन्छ । कात्तिक ७ गते बुधबार कोजाग्रत पूणिर्मा व्रत मनाएपछि नेपालीको महान् चाड बडादशैँ समापन हुनेछ ।

दशैँघरमा प्रतिपदाको दिनदेखि गरिएको पूजाआराधना विधिपूर्वक आज विसर्जन गरिन्छ र श्री नवदुर्गा भवानीको प्रतीक पूर्ण घडाको जलबाट अभिषेक गरी घरघरमा ठूलाबडा र एवम् मान्यजनबाट टीका र जमरा लगाइँदैछ । मीठो खाने, राम्रो लगाउने तथा पारिवारिक भेटघाट गरिने र स्नेह एवम् सद्भाव अभिवृद्धि गर्ने पर्वका रुपमा दशदिनसम्म मनाइने यो बडादशैँ पर्व धार्मिकमात्र नभएर सामाजिक–सांस्कृतिक पर्वका रुपमा समेत महत्वपूर्ण मानिन्छ ।

असत्यमाथि सत्यको विजयका रुपमा मनाइने यो पर्व मर्यादापुरुषोत्तम श्रीरामले आसुरी शक्तिको प्रतीक रावणमाथि विजय प्राप्त गरेको अथवा शक्तिस्वरुपा देवी भगवतीले महिषासुर दैत्यको वध गरी विजयश्री प्राप्त गरेको पुनीत सम्झनामा मनाउने गरिन्छ । कृषिका औजार अन्नबालीको पूजा गर्ने परम्पराका रूपमा पनि दशैँलाई लिइन्छ ।

राम्रा राम्रा पोशाकमा सजिएका, निधारभरि दही अक्षताका राता टीका लगाएर शिरमा जमरा सिउरेका, मान्यजनबाट टीका थाप्न जानेहरुको आज विशेष चहलपहल देखिन्छ । स्वदेश वा विदेशमा रहेका नेपालीहरु आजको दिन सपरिवार एकत्रित भई विजयादशमीको टीका, जमरा लगाएर आपसमा शुभकामना आदानप्रदान गर्दछन् ।

प्रकाशित मिति : २ कार्तिक २०७५, शुक्रबार ०५:२७