२२ आश्विन २०८१, मंगलवार | Tue Oct 8 2024

कालापनी, लिपुलेक र लिम्पियाधूरा नेपाली भूभाग हुन्ः पूर्वराष्ट्रपति भण्डारी

३० वैशाख, काठमाडाैँ । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली भूभागको विषयलाई व्यवहारिक निष्कर्षमा लैजान काली नदीको मुहानका बारेमा फेरि महत्वका साथ स्मरण गर्नुपर्ने बताएकी छिन । ‘नेपाल इन्डिया फ्रन्टायर डिप्लोमेसी इन् रिफ्रेन्स टु काली रिभरः प्रस्पेक्टिभस् अफ इन्टरन्यासनल ल’ पुस्तक विमोचनको कार्यक्रममा उनले दुई देशको सीमाको सबैले सम्मान गर्नुपर्ने बताइन् ।

पूर्व राष्ट्रपति भण्डारीले देशको नक्सामा संसदले कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समावेश गरेर त्यसलाई संविधानको अंग बनाएपछि मुलुकको सार्वभौमिकता र राष्ट्रिय एकताका सन्दर्भमा नयाँ चेतनाको सञ्चार भएको बताईन् । उनले भनिन्, दुई देशको सीमाको सबैले सम्मान गर्नुपर्छ, कालापनी लिपुलेक र लिम्पियाधूरा नेपाली भूभाग हुन् । हाम्रो देशको नक्सामा संसदले कालापानी लिपुलेक र लिम्पियाधूरालाई समावेश गरेर त्यसलाई संविधानको अंग बनाएपछि मुलुकको सार्वभौमिकता राष्ट्रिय एकता र राष्ट्रियताका सन्दर्भमा नयाँ चेतनाको सञ्चार भएको छ । नेपाली भूभागको यस विषयलाई व्यवहारिक निष्कर्षमा लैजान काली नदीको मुहानका बारेमा इतिहासका प्रसंगलाई फेरि हामीले महत्वका साथ स्मरण गर्नुपर्छ । ’

पूर्वराष्ट्रपति भण्डारीले नेपाल जस्तो देशको लागि नदी आर्थिक विकासको एउटा महत्वपूर्ण साधन भएको भन्दै यसलाई दिगो रुपमा विद्युत उत्पादन, आधुनिक सिचाई र पर्यटकीय आकर्षकको थलो बनाउन सक्नु पर्ने बताइन् । नदीको सही उपयोगले मुलुकलाई सामाजिक र आर्थिकरुपले सम्पन्न तुल्याउन सकिने पनि उनको भनाइ थियो ।

उनले भनिन‘ जलवायु परिवर्तन र वातावरण विनाशका कारणले हाम्रो गौरवका नदी प्रणालीहरु प्रदूषित र कमजोर बनिरहेका छन् । हाम्रा मुलुकको सन्दर्भमा नदी प्रणाली आर्थिक सुधारको लागि महत्वपूर्ण साधनको रुपमा समेत रहेको छ । दिगो रुपमा विद्युत उत्पादन, आधुनिक सिचाई र पर्यटकीय आकर्षकको थलो बनाउन सक्ने हो भने मुलुकलाई सामाजिक आर्थिक रुपले सम्पन्न तुल्याउन सकिने अवस्था छ । नदीको प्रणालीलाई बहु आयामिकतालाई आत्मसाथ गर्दै वातावरण पूर्वाधारहरुको विकास गर्न सक्दा हाम्रो देशमात्र होईन् सबैले लाभ लिन सक्ने देखिन्छ ।’

उनले पुस्तकको समीक्षा गर्दै लेखकहरुले भविष्यमा यस्ता अध्ययनमूलक सामग्रीहरु पाठकहरु समक्ष ल्याउनु अपेक्षा लिएको भन्दै यस्तो अध्ययनमूलक पुस्तकबाट राष्ट्रले लाभ पनि लिनसक्ने बताईन् । कुटनीति र राजनीतिबीचको सिमारेखा छुट्याउन नसक्ने हो भने आपसी विश्वास निमार्ण गर्न नसकिने मात्र नभइ भएको विश्वासपनि संकटमा पर्न सक्ने हुदाँ यसलाई गम्भीर भएर हेर्नुपर्ने पनि उनको भनाइ छ ।

उक्त कार्यक्रम सम्बोधन गर्दै राष्ट्रिय सभा सदस्य वामदेव गौतम महाकाली सन्धि गर्नै नहुने सन्धि भएको उल्लेख गरेका छन् । उनले भारतले अतिक्रमण गरेको जमिनबाट भारतीय सेना, कर्मचारीहरु तुरुन्त फर्काउनु पर्ने भन्दै हाम्रो आजको मुख्य विषय नै यही भएको बताए । उनले भने, महाकाली सन्धि गर्नुहुदैँन भन्दा यसको पक्षमा महाकाली सन्धिको विपक्षमा आएको बहुमतलाई पक्षमा राखेपछि हाम्रो आन्दोलन सुरु भएको छ । नेपालले भारतको मिचाहा प्रवृत्ति, अतिक्रमण गरेको जमिनबाट भारतीय सेना, कर्मचारीहरु तुरुन्त फर्किनु पर्छ हाम्रो भूमिमा बस्न पाउँदैन भन्ने हाम्रो आजको विषय हो ।’

उनले वरिष्ठ अधिवक्ता डा.सुरेन्द्र भण्डारी र डा. अच्चुत गौतमद्वारा संयुक्त रूपमा लिखित पुस्तकले देशको सीमाका विषय समेटेर अन्तर्राष्ट्रिय अदालतमा जान साथ दिने भन्दै धन्यवाद पनि दिए ।

प्रकाशित मिति : ३० बैशाख २०८०, शनिबार १६:०१