२ कार्तिक २०८१, शुक्रबार | Fri Oct 18 2024

हाम्रो अर्थतन्त्रप्रति आमरूपमा व्यापक चिन्ता र चासो बढेको छः प्रधानमन्त्री प्रचण्ड

२४ वैशाख, काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकम दाहाल प्रचण्डले  नेपालको अर्थतन्त्रप्रति आमरूपमा व्यापक चिन्ता र चासो बढेको बताएका छन । आइतबार काठमाडौँमा बैंक तथा बित्तिय संस्था परिसंघ नेपाल लगायतका संस्थाले आयोजना गरेको नेपाल व्यवसाय शिखर सम्मेलनमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले कोभिड–१९ को महामारी र रूस–युक्रेन युद्धसहित विश्वमा विकसित विभिन्न राजनीतिक र आर्थिक परिघटनाहरूका कारण नेपालको अर्थतन्त्र प्रभावित बन्न पुगेको बताए ।

प्रधानमन्त्रीले अर्थतन्त्र प्रभावित बन्न पुगेको यस्तो विषम् परिस्थितिमा नेपाल सरकार, मातहतका निकाय, विकास साझेदार, प्रमुख राजनीतिक दल र सरोकारवाला सम्पूर्ण पक्षहरू एकाकार भई आर्थिक गतिविधिहरूलाई तीव्र बनाउनु र संकटपूर्ण अवस्थामा रहेको अर्थतन्त्रलाई गतिशील बनाउनु वर्तमान अवस्थाको प्रमुख आवश्यकता रहेको बताए ।

प्रचण्डले आगामी आर्थिक बर्षको बजेट र मौद्रिक नीतिको तयारी भइरहेको वर्तमान सन्दर्भमा यस शिखर सम्मेलनबाट प्राप्त हुने नीतिगत सुझावहरूले आगामी मार्ग तय गर्न नेपाल सरकारलाई ठोस दिशाबोध गर्ने बताए । उनले विभिन्न आन्तरिक तथा बाह्य आर्थिक गतिविधिहरूमार्फत् आर्थिक वृद्धि हासिल गर्न नेपाल सरकार पूर्ण सजगता र सक्रियताका साथ लागि परिरहेको बताए ।

प्रधानमन्त्री प्रचण्डले  विभिन्न चुनौतीहरूका बाबजूद अहिले देशको अर्थतन्त्रको अवस्था क्रमशः सुधारोन्मुख हुँदै गएको कुरा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आँकडाहरूले प्रष्ट पारेको बताए । उनले नेपाल जल, जमिन, जडीबुटी, जंगल र युवा जनशक्ति जस्ता स्रोतहरूले भरिपूर्ण देश रहेको भन्दै यिनै क्षेत्रहरूमा देखिएका प्रचुर सम्भावनाहरूको खोजी, परिचालन एवं उपयोग विना समृद्ध नेपाल निर्माण सम्भव नहुने बताए ।

प्रधानमन्त्रीले नेपाल सरकारले कृषि क्षेत्रलाई दिएको प्राथमिकता र बनाएको नीति तथा कार्यक्रमअनुसार नयाँ उद्यमीहरूको उत्पादन, स्वउद्यमशीलताको विकास तथा विस्तार गर्दै रोजगारी वा स्वरोजगार बढाउने, कृषि क्षेत्रलाई आधुनिकीकरण एवं व्यवसायीकरण गर्दै लघु, घरेलु, साना तथा मझौला उद्योग व्यवसायहरूको विकास, विस्तार गर्दै औद्योगिक एवं आर्थिक क्रान्तिको आरम्भ गर्नु अहिलेको मुख्य आवश्यकता रहेकोमा जोड दिए ।

उनले तीव्र आर्थिक वृद्धिका लागि कृषि तथा वन पैदावार, पर्यटन, जलविद्युत, सूचना प्रविधि लगायतका प्रचुर सम्भावना बोकेका क्षेत्रहरूमा स्वेदशी  र  वैदेशिक लगानी विस्तार गर्दै अगाडि बढ्नुपर्ने आवश्यकता रहेको छ । यी क्षेत्रहरूमा देखिएका विभिन्न प्रशासनिक एवं कानुनी व्यावधानहरूलाई सरलीकरण गर्न नेपाल सरकार सदैव तत्पर रहेको बताए । प्रधानमन्त्री प्रचण्डले उद्यमी तथा प्रबुद्ध व्यक्तित्वहरूबीच घनिभूत छलफल गरेर आर्थिक सुधार तथा आत्मनिर्भर अर्थतन्त्रको विषयमा बहुमूल्य सुझावहरू नेपाल सरकारले दिने विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : २४ बैशाख २०८०, आईतवार ११:०४