२२ आश्विन २०८१, मंगलवार | Tue Oct 8 2024

संसदीय सुनुवाइ समितिका लागि राष्ट्रियसभाबाट तीन सांसद मनोनीत

१३ बैशाख, काठमाडौँ । संसदीय सुनुवाइ समितिका लागि राष्ट्रियसभाबाट तीन जना सांसद मनोनीत भएका छन । राष्ट्रियसभाको आजको बैठकले सांसदहरू जगप्रसाद शर्मा, देवेन्द्र दाहाल र रमेशजङ्ग रायमाझीलाई उक्त समितिमा मनोनीत गर्ने सहमति दिएको हो ।

सङ्घीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली, २०७५ को नियम २५ को उपनियम २ बमोजिम संसदीय सुनुवाइ समितिमा उनीहरूलाई मनोनीत गर्न राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सिफारिस गरेका  थिए । अध्यक्ष तिमिल्सिनाले गरेकाे मनोनयन सिफारिस प्रस्तावलाई राष्ट्रियसभाले सहमति दिएको हो ।

प्रधानन्यायाधीश, सर्वोच्च अदालतका न्यायाधीश, न्याय परिषद्का सदस्य, संवैधानिक निकायका प्रमुख वा पदाधिकारी र राजदूत पदमा नियुक्तिका लागि प्रस्ताव गरिएका नाममा सुनुवाइका लागि संसदीय समिति रहने व्यवस्था छ ।

समितिमा प्रतिनिधिसभाको सहमति लिई सभामुखले मनोनीत गरेका प्रतिनिधिसभाका १२ जना र राष्ट्रियसभाको सहमति लिई अध्यक्षले मनोनीत गरेका राष्ट्रियसभाका तीन जना गरी कूल १५ जना सदस्य रहने व्यवस्था छ । समितिको सभापति सदस्यमध्येबाट एक जना चयन हुने व्यवस्था छ ।

प्रकाशित मिति : १३ बैशाख २०८०, बुधबार १८:१७