९ मंसिर २०८१, आईतवार | Sun Nov 24 2024

नेपाल इन्भेष्टमेन्ट मेगा बैंककाे नाफा ३ अर्ब ४ करोड, प्रतिसेयर आम्दानी कति ?

७ वैशाख, काठमाडाैं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकले सार्वजनिक गरेकाे वित्तीय विवरणअनुसार बैंकको खुद नाफा ३ अर्ब ४ करोड ६१ लाख २३ हजार रुपैयाँ रहेकाे छ । यो गत वर्षको सोही अवधिको भन्दा २२.९६ प्रतिशतले बढी हो । बैंकले गत आवको सोही अवधिमा २ अर्ब ४७ करोड ७२ लाख ६१ हजार रुपैयाँ नाफा कमाएको थियो ।

याे अवधिमा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब २७ करोड रुपैयाँले ऋणात्मक रहेको छ। अघिल्लो वर्ष बैंकको वितरणयोग्य मुनाफा ४७ करोड २४ लाख रुपैयाँ रहेको थियो।  चैत मसान्तसम्म बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेको छ । बैंकको खुद ब्याज आम्दानी ९९.४९ प्रतिशतले बढेर ७ अर्ब ७९ करोड ५१ लाख ५९ हजार रुपैयाँ पुगेको छ । यस्तै सञ्चालन नाफा ५५.८६ प्रतिशतले बढेर ५ अर्ब ६५ करोड १२ लाख ७४ हजार रुपेयाँ पुगेको छ ।

बैंकले ३ खर्ब ५० अर्ब रुपैयाँ निक्षेप संकलन गरी ३ खर्ब ११ अर्ब रुपैयाँ कर्जा परिचालन गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म बैंकले १ खर्ब ८४ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ५७ करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो।

बैंककाे चुक्तापुँजी ३४ अर्ब १२ करोड रुपैयाँ रहेकाे छ भने रिजर्भको आकार भने ६६.२२ प्रतिशतले बढेर २३ अर्ब ८९ करोड रुपैयाँमा पुगेको छ। अघिल्लो वर्ष रिजर्भमा १४ अर्ब ३७ करोड रुपैयाँ थियो। बैंकको प्रतिसेयर आम्दानी १५ रुपैयाँ २ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १६६ रुपैयाँ ८८ पैसा रहेको छ । बैंकको खराब कर्जा २.२० प्रतिशतबाट बढेर ३.९४ प्रतिशत पुगेको छ ।

प्रकाशित मिति : ७ बैशाख २०८०, बिहीबार १२:२४