८ पुष २०८२, मंगलवार | Tue Dec 23 2025

सर्वसाधारणको लागि १२ लाख ६८ हजार कित्ता आईपीओ निष्काशन हुँदै, कति दिने आवेदन ?

६ वैशाख, काठमाडाैं । ईङवा हाइड्रोपावर लिमिटेडले बैशाख १३ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ।

कम्पनीले आफ्नो जारी पूँजी ६० करोड रुपैयाँको २० प्रतिशतले हुन आउने १२ करोड रुपैयाँ बराबरको सेयर सर्वसाधारणमा निष्काशन गर्ने भएको हो । कम्पनीले आयोजना प्रभावित क्षेत्रका लागि निष्काशन गरि बाँडफाँड नभएको २ करोड ९३ लाख १६ हजार रुपैयाँ बराबरको सेयर थप गरी कुल १४ करोड ९३ लाख १६ हजार रुपैयाँ बराबरको १४ लाख ९३ हजार १६० कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो।

जसमध्ये १ लाख २० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँड गरिसकेको छ भने २९ हजार ८६३ कित्ता शेयर कर्मचारीहरुको लागि तथा ७४ हजार ६५८ कित्ता सेयर सामूहिक लगानी कोषका लागि बाँडफाँड गरिएको छ। सर्वसाधारण लगानीकर्ताले अब कुल १२ लाख ६८ हजार ६३९ कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन्।

कम्पनीको उक्त आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म बैशाख १७ गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ। लगानीकर्ताहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

प्रकाशित मिति : ६ बैशाख २०८०, बुधबार ०९:०९