२९ मंसिर २०८२, सोमबार | Mon Dec 15 2025

साना-मझौला उद्योगले पनि प्रिमियममा आईपीओ निष्काशन गर्न पाउने

१६ चैत, काठमाडाैं । साना तथा मझौला उद्योगले पनि प्रिमियममा धितोपत्रको (आईपीओ) सार्वजनिक निष्कासन गर्न पाउने भएका छन्।

नेपाल धितोपत्र बोर्ड (सेबोन)ले आज सार्वजनिक गरेको साना तथा मझौला संगठित संस्थाको धितोपत्र निष्कासन तथा कारोबारसम्बन्धी नियमावली, २०७९को मस्यौदामा यस्तो व्यवस्था गरिएको हो। यसका लागि धितोपत्र बोर्डले नियमावलीमा विभिन्न मापदण्ड तोकेकाे छ ।

संगठित संस्था लगातार पछिल्लो ३ वर्षसम्म खुद मुनाफामा सञ्चालनमा रहेको र संगठित संस्थाको प्रतिसेयर चुक्तापुँजीभन्दा प्रतिसेयर नेटवर्थ बढी भएले प्रिमियममा धितोपत्रको सार्वजनिक निष्कासन गर्न सक्नेछन् ।

यसैगरी प्रिमियममा धितोपत्रको सार्वजनिक निष्कासन गर्न संगठित संस्थाको साधारणसभाले प्रिमियम मूल्यमा धितोपत्र जारी गर्ने निर्णय गरेको र संगठित संस्थाले कम्तीमा औसत वा सोभन्दा माथिल्लो क्रेडिट रेटिङको ग्रेड प्राप्त गरेको हुनुपर्नेछ।

संगठित संस्थाको पछिल्लो लेखापरीक्षण भएको वित्तीय विवरणअनुसारको प्रतिसेयर नेटवर्थको दुई गुणासम्म निष्काशित मूल्य तोक्न सक्नेछ।

बोर्डबाट धितोपत्रको सार्वजनिक निष्कासनसम्बन्धी व्यवस्था तथा विवरणहरु स्वीकृत भएको मितिबाट २ महिनाभित्र संगठित संस्थाले प्रिमियममा धितोपत्रको बिक्री खुला गरिसक्नुपर्ने  छ।

प्रकाशित मिति : १६ चैत्र २०७९, बिहीबार १४:२१