१० पुष २०८२, बिहीबार | Thu Dec 25 2025

बचत कसरी गर्ने थाहा पाउन वित्तीय साक्षरता आवश्यक छः रामबहादुर जिसी

-अमृत बास्कुने

१३ चैत, म्याग्दी । राष्ट्रिय सहकारी बैंकका सञ्चालक एवम् गण्डकी प्रदेश संयोजक रामबहादुर जिसीले पैसा कमाउने, खर्च गर्ने र बचाउने सीपका लागि वित्तीय साक्षरता अभियान आवश्यक रहेको बताएका छन् ।

पैसा कमाउने मात्रै नभएर त्यसको प्रयोग र सदुपयोग के कसरी गर्ने भन्ने थाहा पाउनु नै बित्तीय साक्षरता रहेकाे उनको भनाइ थियो ।
बेनी बजारमा रहेको बिश्वामित्र बचत तथा ऋण सहकारी संस्थाले आयोजना गरेको नयाँ सदस्यहरुका लागि वित्तीय साक्षता कार्यक्रममा सहजीकरण गर्दै उनले आम्दानी कसरी बढाउने भन्ने मात्रै नभएर खर्च के–के मा गरिएको रहेछ भन्ने हेक्का राख्न सकियो भने बचत स्वत हुने बताए ।

नेपालमा ६० प्रतिशत जनता अहिले बित्तीय साक्षरता भन्दा बाहिर रहेको चर्चा गर्दै उनले गाउँ गाउँमा वित्तीय साक्षरता आवश्यक पर्ने बताए ।अर्को प्रसंगमा सहकारीले कार्यक्षेत्र भन्दा बाहिर लगानी गर्दा जोखिम बढ्न सक्ने भएकाले त्यसमा सबै सचेत रहन पर्ने उनको भनाई थियो ।

गैर सदस्यहरुलाई लगानी गर्ने र उनीहरुबाट बचत संकलन गर्ने गरिदा पनि संस्था जोखिमा हुन सक्छ त्यसैले सहकारीले सेयर सदस्य भन्दा बाहिर बचत तथा ऋणको कारोबार गर्नै हुँदैन । सहकारी बनेको खण्डमा सेयर सदस्यहरु बन्छन् साहुकारी बन्न थाल्यो भने सदस्य मर्कामा पर्छन त्यसैले सहकारीलाई यसका सिद्धान्त आत्मसात गर्दै चलेको खण्डमा कुनै समस्या नहुने बताए ।

विश्वामित्र बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष यामबहादुर बानियाँको अध्यक्षता, शिक्षा उप–समिति संयोजक देवी जिसीको स्वागत र सचिव भीमबहादुर खत्रीको सञ्चालनमा सम्पन्न कार्यक्रममा सहकारीका पूर्व अध्यक्ष एवम् बेनी नगरपालिका वडा नं.–६ का अध्यक्ष कृष्णसिंह बानियाँले सक्रिय सदस्य र निष्क्रिय सदस्यलाई एउटा प्रकारको सुविधा दिने कारण सहकारीमा सदस्यहरुको आकर्षण बढ्न नसकेको बताए ।

विश्वामित्र सहकारीले निम्न आयस्तर भएका नागरिकहरुलाई राहत, शैक्षिक स्तर बढाउनका लागि छात्रबृत्ती, संस्थाका शेयर सदस्य तथा उनका परिवार शोकमा पर्दा राहत वितरण गर्दै आएको छ । त्यस्तै कक्षा १० उत्तीर्ण गर्दा ए प्लस नतिजा ल्याउने विद्यार्थीलाई पुरस्कृत गर्नुका साथै शेयर सदस्यहरुलाई नियमित रुममा तालिम आयोजना गर्दै आएको संस्थाका उपाध्यक्ष भोजबहादुर रिजालले बताए ।

प्रकाशित मिति : १३ चैत्र २०७९, सोमबार १०:४९