१७ कार्तिक २०८१, शनिबार | Sat Nov 2 2024

ऐतिहासिक भौतिकवादमा सामाजिक विकासका नियमहरु

-सरोजकुमार तामाङ

समाज र त्यसको विकासका नियमहरुको अध्ययन नै ऐतिहासिक भौतिकवादको विषयवस्तु हो । सामाजिक जीवनका जटिलतम घटनाहरुको विश्लेषणमा श्नमजीवीवर्गको हितार्थ समाजलाई बदल्न सक्ने सामार्थ्य ऐतिहासिक भौतिकवादमा रहेको पाइन्छ । सामाजिक विकासका नियमहरुको ज्ञानको आधारमा मानवजातिको प्रगतिशील विकासको प्रक्रियामा मानिसले वास्तविक स्वतन्त्रता प्राप्त गर्दछ । त्यसैले ऐतिहासिक अनिवार्यता समाजको विकासक्रमसँगै उदाउँछ ।

भौतिक उत्पादनले सामाजिक जीवनका सबै पक्षहरुलाई अनिवार्य रुपमा निरुपण गर्दै जाने हुँदा एक सामाजिक व्यवस्थाको स्थान अर्कोले लिने सामाजिक क्रान्तिहरु पनि सम्पन्न हुँदै जान्छ । उदाहरणार्थ, आदिम साम्यवादी युगको स्थानमा दासयुग, दासयुगको स्थानमा सामन्तीयुग, सामन्तीयुगको स्थानमा पूँजीवादी युग र यस्तै पूँजीवादीयुगको स्थानमा समाजवादी युगको प्रादूर्भाव हुनेछ ।

तर, अध्यात्मवादी, बुर्जुवावादी, अधिभौतिकवादी, संशोधनवादी या जोसुकै हुन् जसले ऐतिहासिक भौतिकवादको विपरीत मतहरु जाहेर गर्दछन्, उनीहरु सामाजिक विकासको सारतत्व ऐतिहासिक अनिवार्यतामा हुन्छ भन्नेमा अविश्वास गर्दछन् । ऐतिहासिक अनिवार्यताले वस्तुगत अनिवार्यताको बोध र मानिसहरुको हितानुकूल त्यसको प्रयोगमा नै मानव स्वतन्त्रता निहित हुन्छ ।

स्वतन्त्रताको अर्थ मानिसहरुले अनिवार्यताको बोध गरेको र आफ्नो हितानुकूल प्रयोग गरेको बुझिन्छ । त्यसैले स्वतन्त्रता दीर्घकालीन ऐतिहासिक विकासको परिणाम हो । समाजवादी क्रान्तिले सामाजिक स्वामित्वको आधिपत्यलाई कायम गर्दछ, वर्गीय विरोधाभासहरुलाई हटाउँदछ । मानिसहरुले आफ्नो चेतनाको भरमग्दुर प्रयोग गर्दै आर्थिक, राजनीतिक र साँस्कृतिक जीवनको संचालन गर्दछ । यसरी समाजवादी व्यवस्थाले मात्रै मानव स्वतन्त्रताको अनुभूति प्रदान गर्दछ ।

अर्कोतर्फ सामाजिक विकासका वस्तुगत नियमहरुको इन्कार गर्नु नै बुजुवावर्गको विशेषता हो । सामाजिक विकासका नियमहरुलाई मान्यता नदिनुको अर्थ सामाजिक जीवनको क्षेत्रमा धर्मको निम्ति बाटो सफा गर्नु हो । जसले प्रगतिशीलताको अवधारणालाई पूर्णविराम लगाउने प्रयत्न गर्दछ । सामन्तवादी व्यवस्थालाई चकनाचुर पार्दै पूँजीवादी व्यवस्थाको निर्माणसँगै बुर्जुवा सिद्धान्तकारहरुले पूँजीवादी व्यवस्थालाई आदर्श राज्यको रुपमा चित्रण गर्दै समाजको प्रगतिशील विकासको लक्ष्य पूरा भैसकेको र अब अगाडि बढ्ने ठाउँ छैन भन्दै ऐतिहासिक अनिवार्यतालाई अस्वीकार गर्दछन् ।

त्यसैले उनीहरु सामाजिक प्रगति र विकास जस्ता शब्दहरुको ठाउँमा सामाजिक परिवर्तन प्रयोग गर्दछन् । उनीहरु हाम्रो ध्यान अन्यत्र लगाउने, प्रगतिशील परिवर्तनको महत्व घटाउने र सामाजिक समस्याहरुको निराकरणबाट भाग्ने प्रयास गर्दछन् । उनीहरु पूँजीवादी व्यवस्थाको पतनसँगै समाजवादी व्यवस्थाको भविष्य देखेर भयभीत हुँदै अहिलेसम्मकै सम्पूर्ण मानव समाजको सभ्यताको अन्त्य हुन थाल्यो भन्दै होहल्ला मचाउँछन् ।

विज्ञान र प्रविधिको यो युगमा दुई परस्पर विरोधी सामाजिक प्रणालीहरु – पूँजीवाद र समाजवाद केहि मुद्दाहरुमा समानता देखिँदैमा अब समाजवादी क्रान्तिको औचित्य छैन भन्नु गलत छ किनकि पूँजीवाद व्यक्तिगत स्वामित्व र शोषणमा आधारित छ भने समाजवाद चाहिँ सामाजिक स्वामित्व र श्नमिकहरुको पारस्पारिक सहायता तथा सहजीवनको सम्बन्धमा आधारित छ । त्यसैले विज्ञान र मानिसहरुको सामाजिक-ऐतिहासिक व्यवहारले के पुष्टि गरेको छ भने समाजको इतिहास भनेकै निम्नस्तरीय सामाजिक व्यवस्थाबाट उच्चस्तरीय व्यवस्थामा क्रान्तिकारी परिवर्तनको अनन्त श्नृंखला हो ।

प्रकाशित मिति : १२ चैत्र २०७९, आईतवार १०:२३