ऐतिहासिक भौतिकवादका बिषयवस्तुहरु
-सरोजकुमार तामाङ
मार्क्सवादको महान वैज्ञानिक देन प्रकृतिको मात्र नभएर समाजको विकासमा द्धन्द्धात्मक भौतिकवादी चरित्रको उद्घाटन गर्नु हो । त्यसैले सामाजिक विकासको एक मात्र वैज्ञानिक सिद्धान्त ऐतिहासिक भौतिकवाद हो । सर्वप्रथम समाजप्रतिको दृष्टिकोणमा मार्क्सवादले ल्याएको क्रान्तिको सारतत्वको बारेमा विचार विमर्श गरौं ।
मानव समाजको विकास, यसको संचालन र समाजभित्र भइरहने परिवर्तन आकस्मिक हो या अवश्यम्भावी कारणहरु तथा सामाजिक जीवनको अर्थबारे ऐतिहासिक भौतिकवादले वैज्ञानिक दृष्टिकोणबाट व्याख्या र विश्लेषण गरेको छ ।
मार्क्सवादको अभ्युदय हुनु भन्दा पहिलेका समाजशास्त्रीहरुले सामाजिक जीवनको विकासलाई अध्यात्मवादसँग जोडेर हेरेका थिए । भावनाले जगत र समाजको विकास संचालन हुन्छ भन्ने विचार उनीहरुको थियो । त्यस भावना वा विचारको प्रतिनिधित्व राजा, सेनापति, विद्धान व्यक्तिहरुले गरेका हुन्छन भन्ने कुरालाई आफ्नो प्रस्थानबिन्दू बनाउँदै तिनै व्यक्तिहरु इतिहासका निर्माता हुन भन्ने गलत सन्देश सामाजिक जीवनमा चर्चा गरेको स्पष्ट हुन्छ ।
वास्तवमा सामाजिक विकासमा ऐतिहासिक भूमिका निर्वाह गर्ने जनसमुदाय र श्नमिकहरुलाई उनीहरुले देख्दैनन् । सामाजिक जीवनको एकत्व र उदेश्यमूलकता, ऐतिहासिक घटनाहरुको वास्तविक प्रेरक तत्वहरु र भौतिक स्रोतहरुलाई बुझ्न छाडेर अध्यात्मवादी दृष्टिकोण नै उनीहरुको गलत बुझाई थियो ।
त्यसको विरुद्ध सामाजिक जीवनवृत्तिले सामाजिक चेतनाको निरुपण गर्दछ भन्ने ऐतिहासिक भौतिकवादको विकास मार्क्स र एंगेल्सले गर्नुभयो । समाजको भौतिक जीवन, सम्पूर्ण उत्पादनको कार्य र उत्पादनको प्रक्रियामा मानिसहरुबीच हुने आर्थिक सम्बन्धहरु सामाजिक जीवनवृत्तभित्र पर्दछ भने मानिसको बौद्धिक जीवन, उनीहरुको व्यवहारिक विचार र सिद्धान्तहरु सामाजिक चेतना अन्तर्गत पर्दछ ।
ऐतिहासिक भौतिकवादकानुसार विज्ञान, कला, दर्शनको क्षेत्रमा लाग्नु अघि मानिसले जीवनयापनका निम्ति चाहिने अति आवश्यकताका वस्तुहरुलाई पूर्ति गर्न भौतिक सम्पत्तिको उत्पादन गर्नुपर्दछ । त्यसले गर्दा सामाजिक जीवनमा आर्थिक विकासको चरण युगानुसार फरक-फरक हिसाबले इतिहासमा देखापर्दछ ।
सामाजिक-आर्थिक व्यवस्थाको मुख्य र निर्णायक सम्बन्धको रुपमा आर्थिक र उत्पादनका सम्बन्धलाई वैज्ञानिक ढंगले सुस्पष्ट पार्ने काम मार्क्स र एंगेल्सको आफ्नो कृति ऐतिहासिक भौतिकवादमा गर्नु भएको छ । यो नै ऐतिहासिक भौतिकवादको महत्वपूर्ण र आधारभूत अवधारणा हो । सामाजिक -आर्थिक व्यवस्थाभित्र आर्थिक, वैचारिक, पारिवारिक आदि सामाजिक घटनाहरु र प्रक्रियाहरु पर्दछ । समाजको विकास भनेको एउटा सामाजिक-आर्थिक व्यवस्थाको ठाउँमा अर्को अझ विकसित व्यवस्थाले ठाउँ लिनु हो ।
उदाहरणार्थ, आदिम साम्यवादी व्यवस्थाबाट दास-प्रथात्मक, सामन्तवादी व्यवस्थाबाट पूँजीवादी व्यवस्था र पूँजीवादी व्यवस्थाबाट समाजवादी व्यवस्था । यसरी समाजको विकासको क्रममा जनसमुदाय र श्नमिकहरुको महत्वपूर्ण उपस्थितिमा जनश्नमदानले नै सामाजिक व्यवस्थामा मानिसलाई चाहिने भौतिक मूल्यहरुको निर्धारण गर्दछ । समाज र त्यसका विकासका नियमहरुको अध्ययन नै ऐतिहासिक भौतिकवादको बिषयवस्तु हो ।
ऐतिहासिक भौतिकवादले सामाजिक जीवनवृत्त र सामाजिक चेतनाको सहसम्बन्ध, मानिसहरुको जीवनमा भौतिक उत्पादनको महत्व, सामाजिक विचारहरु र तदानुसारको संस्थाहरुको प्रादूर्भाव र तिनका भूमिकाबारे प्रकाशित गरेको छ । साथसाथै, ऐतिहासिक भौतिकवादले इतिहासमा जनता र विभिन्न व्यक्तिहरुको भूमिका, वर्ग र वर्गसंघर्षको उत्पत्ति, राज्यको अवधारणा, विभिन्न कालखण्डमा देखिँएको सामाजिक क्रान्ति र तिनको महत्व जस्ता अन्य सामाजिक विकासका बिषयहरुमा उठिएका सवालहरुलाई निराकरण गर्दछ ।
प्रकाशित मिति : १० चैत्र २०७९, शुक्रबार १०:४३