काठमाडाैँको मुलपानीमा जुवा खालमा प्रहरी छापा, झ्यालबाट भाग्दा दुर्इ जनाको मृत्यु
–पवित्रा मुडभरी
१९ असोज, काठमाडाैँ । काठमाडाैँको मुलमानीमा जुवाको खालमा प्रहरीले छापा मार्दा भाग्नेक्रममा दुर्इ जनाको ज्यान गएको छ । शुक्रबार राति प्रहरीले ठूलो संख्यामा मान्छेहरू जुवाखेलिरहेको सूचनाको अाधारमा छापा मारेको थियो । राति १० बजे प्रहरीले छापा मार्नेक्रममा भाग्न खोज्दा दुर्इजनाको झ्यालबाट लडेर मृत्यु भएको हो ।
घटनास्थलमा गम्भीर घाइते देखिएका उनीहरूको प्रहरीको गाडीमा अस्पताल लैजाँदा बाटोमै मृत्यु भएको हो । बिएण्डबी अस्पतालले दुबै जनको मृत्यु भएको पुष्टि गरेको छ । अस्पालले मृतक मध्ये ४३ वर्षका सरोज घलेको पहिचान खुलेको जनाएको छ । त्यस्तै मृतक अर्का व्यक्ति पनि अन्दाजी ४३ वर्ष जतिकै रहेको तर पहिचान नखुलेको प्रहरीले जनाएको छ ।

मध्यरातको ११ः४० बजे मुलपानीको घटनास्थलमा रहेका काठमाडाैँ प्रहरीका प्रमुख बसन्त लामाले २५ जना भन्दा बढी व्यक्ति जुवाखेली रहेको सूचनाको अाधारमा प्रहरीले छापा मारेको जानकारी दिए । उनले प्रहरीले छापा मार्नेक्रममा च्यानल गेटले रोकिएको तर प्रहरीले गेट खोल्न लाग्दा जुवाडेहरूको बीचमा भागदाैड मच्चिएको जानकारी दिए । उनले भागदाैडको क्रममा झ्यालबाट हामफाल्दा टिनमा परेका दुर्इजना गम्भीर घाइते अवस्थामा प्रहरीकै गाडीमा राखेर अस्पातल पुर्याएको बताए ।
यो पनि पढ्नुहोस्
–मुलपानीको जुवा अखडामा प्रहरीको छापा, भाग्नेक्रममा एक जना छतबाट खसेर गम्भीर घाइते
प्रकाशित मिति : २० आश्विन २०७५, शनिबार ००:०९












