६ जेष्ठ २०८१, आईतवार | Sun May 19 2024

मलमा दिइएको अनुदान कटौती विरोधमा किसान महासंघद्वारा माइतीघरमा विरोध प्रर्दशन


२ चैत, काठमाडौं । सरकारले रासायनिक मलमा दिदैँ आएको अनुदान कटौतिको विरोधमा अखिल नेपाल किसान महासंघले, काठमाडौंमा विरोध प्रर्दशन गरेको छ । बिहिबार काठमाडौंको माइतीघरमा अखिल नेपाल किसान महासंघले रासायनिक मलमा गरिएको अनुदान कटौतीको बिरोधमा धर्ना सहित विरोध प्रर्दशन गरेको हो ।

धर्ना कार्यक्रममा बोल्दै किसान महासंघ बाग्मती प्रदेश संयोजक कृष्ण अधिकारीले सरकारले रासायनिक मलमा दिदै आएको अनुदान कटौती गरी किसानलाई निरुत्साहितगरेको भन्दै आक्रोस पोखे ।

उनले भने ,“सरकारले किसानको पक्षमा थोरै कामपनि गरेको छैन् । विदेशबाट आयात गर्ने फूलको विषय होस या आयात गर्ने विषादी भएको तरकारीको होस, विषादी परीक्षण नगरी ल्याउने जुन तरकारी छ त्यसका विरुद्धको होस या किसानले बजार नपाएको विषयको आन्दोलन होस् । किसान महासंघले आन्दोलन गदै आएको छ ।”

सरकारले युरियामा ८० प्रतिशत अनुदान दिदै आएको थियो तर हाल ६४ दशमलब ४९ प्रतिशत कायम गरिएको छ । त्यस्तै डिएपी मा ५९ प्रतिशतबाट ५२ दशमलब ३८ प्रतिशत तथा पोटासमा ५८ प्रतिशतबाट झारेर ४६ दशमलब ९ प्रतिशत कायम गरिएको छ ।

सरकारले नेपाली जनताका छोरा छोरीलाई विदेश जान मात्र प्रोत्साहित गराएको उनको गुनासो छ । त्यस्तै अखिल नेपाल किसान महासंघका उपमहासचिब बाबुराम थापाले नेपाली किसानहरु कुटो कोदालो बोकेर कृषि उत्पादन गर्ने खेत बारीमा जानु पर्नेमा यो सरकारको लाचार निर्णयका कारण मेचीदेखि महाकालीसम्म सडकमा आउन बाध्य गराएको भन्दै आक्रोस पोखेका छन् । सरकारले लिएको निर्णय फिर्ता नलिएसम्म आन्दोलन जारी राख्ने बताएका छन् ।

प्रकाशित मिति : २ चैत्र २०७९, बिहीबार १६:१६