सहकारी ठगीमा बदनाम टोखाका मेयर अधिकारीको कानुनी सल्लाहकारमा कांग्रेस नेता खत्री
१ चैत, काठमाडाैँ । सहकारी ठगीमा बदनाम बनेका टोखा नगरपालिकामा प्रमुख (मेयर) प्रकाश अधिकारीले कानुनी सल्लाहकारको रूपमा नेपाली कांग्रेस निकटका विक्रम खत्रीलाई जागिर दिएका छन । नेकपा एमालेका नेता समेत रहेका मेयर अधिकारीले पार्टीको स्थानीय कमिटीको असहमतिको बाबजुद अधिवक्ता खत्रीलाई नगरपालिकाको कानुनी सल्लाहकारको नियुक्ति दिइएको छ ।
खत्रीलाई गत फागुन १९ मा नियुक्तिको जानकारी दिइएको छ । टोखाकै ८ नम्बर वडामा करबि १० रोपनी सरकारी जग्गा व्यक्तिको नाममा गराउन सिफारिसदेखि अदालतको सेटिङसम्म मिलाउन भूमिका खेलेको भनेर आरोप खेपिरहेका अधिकारीले नेपाली कांग्रेस निकटका अधिवक्तालाई कानुनी सल्लाहकारमा नियुक्त गरेपछि स्थानीय एमाले नेताहरू भने सशंकित बनेका छन । पहिलो पटक मेयर हुँदा पनि टोखाका लागि खसै काम गर्न नसकेका अधिकारीले विवादित काम भने गर्दै आएको उनी निकटकाहरू नै बताउँछन ।
यसअघि नै अधिकारी उच्च अदालत पाटनबाट सहकारीको नाममा २ सय २ जनालाई ठगी गरेको अभियोगमा दोषी ठहर भैसकेका नेता हुन । अधिकारीसहितले नाङ्लो दीप सेभिङ एन्ड क्रेडिटको अपरेटिभ प्राली मार्फत निक्षेपकर्तालाई ठगी गरेको ठहर गर्दै अदालतले एक महिना कैद र १८ लाख ३१ हजार ८ सय ८७ रुपैयाँ बुझाउन फैसला गरेको थियो।
अधिकारी एमालेका एक शीर्ष नेताको सेटिङमा सर्वोच्चमा पुनरावेदनका लागि मुद्दा हालेर त्यसैलाई लम्बाउँदै बसेका छन । उनलाई उच्चले २०७५ फागुन १९ मै दोषी ठहर गरेको थियो । उक्त सहकारीको नाममा आकर्षक सेवा सुविधा र उपहार दिन्छौ भन्दै २०२ जनाबाट १ करोड ८३ लाख १८ हजार ८ सय ७१ रुपैयाँ ठगिएको थियो ।

प्रकाशित मिति : 05:00









