१ जेष्ठ २०८१, मंगलवार | Tue May 14 2024

चलचित्र पत्रकार संघको चुनावमा हारेपछि केही पत्रकारको सामाजिक सञ्जालमा राजिनामा, संघ भने बेखबर


१९ फागुन, काठमाडौँ । चलचित्र पत्रकारहरूको छाता संस्थाको रूपमा रहेको चलचित्र पत्रकार संघका केही सदस्यले चुनावी हार स्वीकार्न नसकेपछि संघबाट राजिनामा दिएको भन्दै समाजिक सञ्जालमा चर्चा चलाएका छन । संघको चुनावमा अध्यक्ष र महासचिवमा कांग्रेस निकटका उम्मेदवार पराजित भएपछि स्तब्ध बनेको समूहले राजिनामा दिएको भनेर सामाजिक सञ्जालमा लेखेका छन ।

जितिन्छ कि भन्ने आशमा चुनावी परिणाम कुरेका उनीहरूले पराजयपछि सामूहिक राजिनामा दिएको विषय सामाजिक सञ्जालमा छाएको छ । फेसबुकमा भाइरल भएको राजिनामाका विषयमा संघका महासचिव रघुनाथ सापकोटासँग चासो राख्दा उनले कुनै पनि सदस्यले राजिनामा नदिएको बताए ।

महासचिव सापकोटाले दैनिकीसँग कुरा गर्दै भने, ‘कसैले सामाजिक सञ्जालमा मनोरञ्जन गरेको हुनसक्छन । चलचित्र पत्रकार संघका साथीहरू कसैले पनि राजिनामा दिनुभएको छैन । उहाँहरूले राजिनामा दिनुभएको भए त तपाईहरूले भन्दा हामीले नै पहिले थाहा पाउने थियौँ । हल्लाका पछि नलागौँ, उहाँहरूले राजिनामा दिनुभएको पनि छैन र दिनुपनि हुन्न ।’

चलचित्र पत्रकार संघमा विजयी समिर बलामी नेतृत्वको टिम ।

चलचित्र पकार संघको निर्वाचनमा नेपाली कांग्रेस निकटका पत्रकारहरूले अध्यक्षमा राजन घिमिरे र महासचिवमा प्रदीप कार्कीको उम्मेदवारी दिएका थिए । तर अधिकांश पदमा उनीहरूको समर्थक उम्मेदवारहरू पराजित हुन पुगे । संघको अध्यक्षमा निर्वाचित भएका अध्यक्ष समिर बलामीलाई उम्मेदवारीमै रोक्न अधिकतम प्रयास गरे पनि मतदानमा भारी मतले पराजित हुन पुगेपछि उनीहरूले संकेतिक रूपमा संघमा विवाद छ भनेर देखाउने भन्दै राजिनामा हल्ला चलाएको संघका एक सदस्यले बताए ।

सामाजिक सञ्जालमा भाइरल भएको राजिनामा पत्रमा भने उपाध्यक्षमा पराजित विशाल राई, महासचिवमा पराजित प्रदीप कार्की र सदस्यमा पराजित प्रकाश ढकालसहित १८ जना रहेका छन । संघमा कांग्रेस निकटकाहरूको छुट्टै प्यानल बनाउन महत्वपूर्ण भूमिका खेलेका बैकुण्ठराज पराजुलीले समेत १८ जनाको समूहमा हस्ताक्षर गरेका छन । उनले पनि साधारण सदस्यबाटै राजिनामा दिएका छन । राजिनामा दिनेहरू प्रायः पराजित उम्मेदवारका प्रस्तावक र समर्थक रहेको बुझिएको छ । उनीहरूको सञ्जालमा भाइरल भएको राजिनामापत्र र हस्ताक्षरकर्ताहरूको सूची तल हेर्न सक्नुहुन्छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०७९, शुक्रबार १६:१३

https://srdb.com.np/