२८ जेष्ठ २०८३, बिहिबार | Fri Jun 12 2026

नेपालमा महिला सहभागिता उल्लेखनीय : उपसभामुख रानामगर

१८ फागुन, बनियानी । प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानामगरले नेपालमा महिला सहभागिता प्रशंसनीय रहेको बताएकी छिन् । झापाको बिर्तामोडस्थित वीरता लेडी जेसीजले आज यहाँ आयोजना गरेको ‘उत्कृष्ट नारी सम्मान’ कार्यक्रममा उहाँले ठूला र विकसित भनिएका मुलुकमा भन्दा नेपालमा महिला सहभागिता धेरै रहेको बताइन् ।

“धेरै विकसित मुलुकमा पाँच, १०, १५ देखि २५ प्रतिशत महिला सहभागिता रहेको छ”, उनले भनीन्, “नेपालमा संविधानले नै ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गरेको छ, यसलाई बढाएर ५० प्रतिशत पुर्याउनुपर्छ ।”

महिला अधिकार स्थापित गर्न र समानताका लागि संघर्ष गर्नुपर्ने अवस्था विद्यमान रहेको उनको भनाइ छ । हरेक क्षेत्रमा महिला सहभागिता बढाउन आवश्यक रहेको बताउँदै उनले बेथिति विरुद्ध ‘एक्सन’ मा उत्रिन जरुरी रहेको औँल्याए । उनले यौनिक, अपाङगता र भूगोलका आधारमा महिला सहभागिता हुनुपर्नेमा जोड दिए ।

“राजनीतिमा महिला पार्टीको ‘रबर स्टाम्प’ जस्तै भएका छन्”, उनले भने, “राजनीतिक बेथितिका विरुद्ध लाग्न जरुरी छ ।” उनले राजनीतिमा पार्टी र पार्टीको आकारअनुसार गरिने व्यवहारको अन्त्य गरिनुपर्नेमा जोड दिए ।

वीरता लेडी जेसीजले यस वर्ष पाइलट जीना लिङ्देनलाई उत्कृष्ट नारी सम्मान प्रदान गरेको छ । वीरता लेडी जेसीजले हरेक वर्ष प्रदान गर्दै आएको उत्कृष्ट नारी सम्मान कार्यक्रमअन्तर्गत यस वर्ष प्राविधिक विधातर्फ लिङ्देनलाई सम्मान गरिएको जेसीजका अध्यक्ष सङ्गीता गिरीले जानकारी दिए ।

वीरता लेडी जेसीजका पूर्वअध्यक्षहरुको सक्रियतामा सन् २०२१ देखि नारी दिवसको अवसरमा झापामा रहेर विभिन्न क्षेत्रमा उत्कृष्ट योगदान गर्ने एक महिलालाई प्रत्येक वर्ष फरक–फरक विधामा उत्कृष्ट नारी सम्मानद्वारा सम्मानित गरिँदै आएको छ ।

प्रकाशित मिति : March 2, 2023 at 2:08 pm